
कुशल मल्लले प्रतियोगिताको पहिलो अर्धशतक बनाएपछि चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्टसलाई १८१ रनको लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कशुलको ७२ रन मद्दतमा पाँच विकेट गुमाएर १८० रन बनाएको हो ।मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । रवि बोपाराले ४४ र हसन इसाखिलले २८ रन जोडे ।
बलिङमा जनकपुरका लागि ललित राजवंशीले २ विकेट लिए । अन्य बलरहरु महँगा बन्दा ललितले किफायती बलिङ गर्दै ४ ओभरमा २ ओभर मेडन राखेर जम्मा ११ रन खर्चिए ।
विष्फोटक ब्याटिङ गरेका कुशल मल्लले रवि बोपारासँग चौथो विकेटका लागि ११३ रनको साझेदारी गरेका थिए । चौथो विकेटका लागि एनपीएलमा भएको यो दोस्रो शतकीय साझेदारी हो भने चौथो विकेटका लागि उच्च साझेदारी हो ।
यसअघि लुम्बिनीका रोहित पौडेल र टम मुर्सले पोखरा एभेन्जर्सविरुद्ध चौथो विकेटका लागि ११० रनको साझेदारी गरेका थिए ।