रुकुम पश्चिमको मुसीकोट नगरपालिका ९ नम्बर वडाले आफ्नो गाउँ आफै बचाउँ अभियान अन्तर्गत तेस्रो चरणको कार्यक्रम तय गरेको छ । उक्त अभियान अन्तर्गत वडाका सबै घरघरमा पुगेर सबै नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण तथा चेकजाँच गरिने छ । जनप्रतिनिधिको नेतृत्वमा स्वास्थ्यकर्मीले घरघरै पुगेर सर्वसाधारणको स्वास्थ्य चेकजाँच गर्नेछन् भने निःशुल्क औषधी पनि वितरण गर्नेछन् ।
व्यक्तिमा देखिएको लक्षणका आधारमा औषधी वितरण गरिने जनाइएको छ । कोरोनाबाट जोगिन यस अघि दुई चरणको कार्यक्रम गरिसकेको वडाले तेस्रो चरणको कार्यक्रम पनि गर्न थालेको हो । घरघरमै स्वास्थ्य चेकजाँच तथा औषधी वितरण कार्यक्रम जेठ ५ गते स्वारा कुन्सिम्ला टोल र नमुना टोल चौखावाङ बाट सुरु गरिने वडाध्यक्ष नविन ओलीले जानकारी दिनुभयो । जेठ ६ गते होल लिङगुर टोलमा जेठ ७ गते कामीगाउँ टोलमा र ८ गते होलतारा अदुवारी टोलमा कार्यक्रम सन्चालन गरिने वडाध्यक्ष ओलीले बताउनुभयो ।
महामारीको रुपमा दिन प्रतिदिन फैलिदै गएको कोरोनाबाट जोगिनका लागि सचेत भएर सुरक्षित रहन अनुरोध समेत त्यस अभियानको क्रममा गरिनेछ । सबैको घरमा पुगेर औषधी दिइने र सकेसम्म घर भन्दा बाहिर जान नदिने उद्देश्य सहित स्वास्थ्यकर्मी र औषधी सहित यो कार्यक्रम गर्न लागिएको वडाध्यक्ष ओलीले बताउनुभयो । कार्यक्रम वडाध्यक्ष ओली, स्वास्थ्य चौकी इन्चार्ज शसिराम केसी र सम्बन्धित टोलका सदस्यको सहभागितामा सञ्चालन गर्ने तयारी छ ।