
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा यूथ कप प्रतियोगिता भैरहवामा आयोजना हुने भएको छ ।
आइसिसी यु १९ पुरुष विश्व कप एसिया छनोटको तयारी स्वरूप कपको आयोजना हुन लागेको हो । यसका लागि क्यानले ३६ खेलाडीको प्रारम्भिक टोली तयार गरेको छ । यिनै खेलाडीलाई ३ टिममा विभाजन गरी यूथ कप सञ्चालन गरिँदै छ ।
क्याम्पमा कर्णालीबाट दुई जना परेका छन् । एनपिएलमा उत्कृष्ट प्रदर्शन गरेका विपिन शर्मा र अरविन्द घर्ती परेका हुन् ।
भैरहवामा निर्माणाधीन एक्स्ट्राटेक ओभलमा प्रतियोगिता आयोजना गरिँदै छ । क्यानका अनुसार प्रतियोगिताको खेलहरू डबल राउन्ड रोबिनका आधारमा सञ्चालन हुँदै छ । यु १९ पुरुष विश्व कपको एसिया छनोट आगामी अप्रिल १२ देखि २१ सम्म नेपालमा आयोजना हुँदै छ ।
५ टोली सहभागी रहने छनोटको शीर्ष स्थानमा रहने टोली विश्व कपमा छनोट हुनेछ । प्रतियोगितामा नेपाल सहित अफगानिस्तान, ओमान, युएई र हङकङको सहभागिता रहनेछ ।