रुकुम पश्चिममा एचपीभी खोप अभियान शुभारम्भ भएको छ । जिल्ला सदरमुकाम मुसिकोटमा रहेको त्रिभुवन जनता माविबाट खोप अभियान सुरु भएको हो । यो खोप पाठेघरको मुखको क्यान्सर विरुद्धको हो ।
जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर महेश चौलागाई, त्रिजमाविका विद्यालय व्यवस्थापन समितिका सदस्य भिमबहादुर खड्का लगायतको उपस्थिति रहेको थियो ।
खोप अभियानका बारेमा जानकारी गराउँदै स्वास्थ्य सेवा व्यवस्थापक डाक्टर महेश चौलागाईले यो खोप सुरक्षित रहेको र अनिवार्य रूपमा खोप लगाउन विद्यालयमा रहेका कक्षा ६ देखि १० कक्षासम्मका र विद्यालय बाहिर रहेका १० देखि १४ वर्षका किशोरीहरूलाई अनुरोध गर्नुभयो । आफूले खोप लगाएपछि अन्य खोप नलगाएकाहरूलाई पनि खोपका लागि प्रचार गर्न उहाँले अनुरोध गर्नुभयो ।
-1738651340.jpg)
साथै एचपीभी खोप अभियानलाई भव्य बनाउन उहाँले जिल्लास्थित सबैलाई अनुरोध गर्नुभयो । कार्यक्रममा बोल्दै मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले पनि लक्षित समूहका किशोरीलाई अनिवार्य खोप लगाउन अनुरोध गर्दै आफ्ना छोरीलाई अनिवार्य खोप लगाउन अभिभावकहरूलाई समेत अनुरोध गर्नुभयो । कार्यक्रमको सञ्चालन स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य निरीक्षक कालीबहादुर ओलीले गर्नुभएको थियो ।
कुन स्थानीय तहमा कहिले खोप ?
आजबाट देशभरमा सुरु भएको एचपीभी खोप अभियान आगामी फागुन ६ गतेसम्म सञ्चालन हुने छ । रुकुम पश्चिममा दुई चरणमा खोप अभियान सञ्चालन हुने छ । जिल्लाका तीन पालिका मुसिकोट र आठबिसकोट नगरपालिका तथा बाँफिकोट गाउँपालिकामा आजबाट खोप अभियान सुरु भएको छ । चौरजहारी नगरपालिका तथा सानीभेरी र त्रिवेणी गाउँपालिकामा माघ २७ गतेबाट खोप अभियान सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालयका खोप सुपरभाइजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।
-1738651348.jpg)
कसले पाउँछन् खोप ?
विद्यालय जाने कक्षा ६ देखि १० सम्मका र विद्यालय नजाने १० देखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई अनिवार्य रूपमा खोप लगाइने उहाँले बताउनुभयो । यो वर्ष पहिलो वर्ष भएकोले कक्षा ६ देखि १० सम्मका किशोरीहरूलाई खोप दिन लागिएको भए पनि अर्को वर्ष देखि भने नियमित रूपमा बर्सेनि कक्षा ६ का छात्राहरूलाई खोप दिइने खड्काले बताउनुभयो ।
कतिले पाउँदैछन् खोप ?
जिल्लामा १० हजार १ सय ९३ जना किशोरीहरूलाई खोप दिने लक्ष राखिएको छ । जसमा कक्षा ६ देखि १० सम्मका ९ हजार ९ सय ६० र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका २ सय ३३ किशोरीहरू रहेका छन् ।
जिल्लाको मुसिकोट नगरपालिकाका २ हजार १८० जना, आठबिसकोट नगरपालिकाका २ हजार १७९ जना र चौरजहारी नगरपालिकाका १ हजार ५३१ किशोरीलाई एचपीभी खोप दिइने छ । सानीभेरी गाउँपालिकाका १ हजार ५५९, त्रिवेणी गाउँपालिकाका १ हजार २७९ र बाँफिकोट गाउँपालिकाका १ हजार २३२ किशोरीलाई उक्त खोप लगाउने योजना रहेको छ ।
खोप कार्यक्रमका लागि १ सय ३१ वटा विद्यालयमा २ सय ७ वटा खोप केन्द्र र ७५ वटा स्वास्थ्य संस्था तोकिएको छ ।
-1738651341.jpg)
कति जनशक्ति परिचालन ?
यो कार्यक्रमका लागि जिल्लाभरमा साढे ६ सय जनशक्ति परिचालन गरिने स्वास्थ्य सेवा कार्यालयका सूचना अधिकारी जनस्वास्थ्य अधिकृत कालीबहादुर ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार कुल जनशक्ति मध्ये २ सय १२ जना स्वास्थ्यकर्मी रहेका छन् भने ४ सय ४४ जना महिला स्वास्थ्य स्वयंसेविकाहरू रहेका छन् । नेपालमा हालसम्म १३ प्रकारका नियमित खोप रहेकामा अब एच.पी.भी थपिएसँगै नियमित खोपको सङ्ख्या १४ पुगेको उहाँले बताउनुभयो ।





-1759842583.jpg)