नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किराँतीले पूर्व माओवादी घटकहरूका बिचमा तत्काल एकताका लागि अपिल गर्नुभएको छ । जनयुद्ध दिवसका अवसरमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ३ बेलटापुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सबै माओवादी घटकहरूका बिचमा एकताका लागि अपिल गर्नुभएको हो ।
उहाँले माओवादीलाई कमजोर हुने छुट नभएको बताउनुभयो । माओवादी कमजोर हुने बित्तिकै प्राप्त सबै उपलब्धि गुम्ने खतरा रहेको उहाँको भनाई छ ।
‘क्रान्तिको यो तीर्थ धाममा उभिएर म अपिल गर्न चाहन्छु हामी कमजोर भयौँ भने हेर्दा हेर्दै क्रान्तिकारीको हातमा हतकडी हुने छ, क्रान्तिकारीको गलामा पासो लाग्ने छ, सके त झुन्ड्याएर मार्ने छन्, हामीलाई कमजोर हुने छुट छैन, सबै पूर्व माओवादीहरूलाई अपिल गर्न चाहन्छु छिटो एकता गरौँ, हामी एक होऔँ,’ उहाँले भन्नुभयो ।
माओवादी एकताका लागि कत्ति पनि संकोच मान्नु नपर्ने उहाँले बताउनुभयो । कहाँ कहाँ हुनुहुन्छ, धारा धारामा विभाजित, चिराचिरामा विभाजित माओवादीहरूले एकता गर्न संकोच मान्नुपर्दैन, एउटै बन्दुकको सिरानी लगाएर हामी सँगै जनयुद्ध लडेका हौँ, हामी एउटै धनुषबाट निस्केका बाण हौँ, उहाँले थप्नुभयो–छिटो गरौँ, जमाना पनि छिटै छ, परिणाम पनि छिटै आउन सक्छ, छिटै आवश्यकता बोध गरौँ ।
विभाजन माओवादीका लागि इनअफ भइसकेको भन्दै उहाँले कसैलाई पनि विभाजनको कुरा नगर्न नेता किराँतीले आग्रह समेत गर्नुभयो । ‘हाम्रा अनुभवलाई इतिहासका दस्ताबेजमा दर्ज गरौँ, हाम्रा अनुभवलाई एक्काइसौँ शताब्दीको क्रान्तिकारी कम्युनिस्ट क्रान्तिकारीहरूका लागि घोषणा पत्र बनाऔँ, कसैले पनि विभाजनको कुरा नगरौँ,‘ उहाँले भन्नुभयो ।
त्यस्तै उहाँले जनयुद्ध हिंसा नभएको बताउनुभयो । जनयुद्ध आफैमा हिंसा नभएको तर जनयुद्धले प्राप्त गरेको अधिकारमाथि हिंसा भएको उहाँले बताउनुभयो । साथै उहाँले रुकुम क्रान्तिको पवित्र तीर्थ धाम भएको बताउनुभयो । बलियो माओवादी पार्टीका लागि यहाँबाट सङ्कल्प गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।


                                                
                                                
                                                
                                                
                    
                    
                    
                    
                    

-1759842583.jpg)