Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वमा १० निषेधाज्ञा 

रुकुम पूर्वमा निषेधाज्ञा जारी गरिएको छ । कोरोनाको महामारी नियन्त्रणका लागि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९डिसीसीएमसी०ले गरेको सिफारीस अनुसार जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वले जिल्लामा १० दिन निषेधाज्ञा जारी गरेको हो । आज राती १२ बजेदेखि जेठ १५ गते राती १२ बजेसम्म लागु हुनेगरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी राजकुमार राईले जानकारी दिनुभयो । यसअघि प्रशासनले वैशाख २२ गतेबाट २९ गते राती १२ बजेसम्मलाई जिल्ला सदरमुकाम रुकुमकोट सिल गरेको थियो । सो अवधि सकिए पश्चात फेरी २९ गते राती १२ बजेबाट जेठ ५ गते राती १२ बजेसम्म लागु हुनेगरी रुकुमकोट सहित जिल्लाका विभिन्न १९ ठाउँ सिल गरिएको थियो । 

सिल अवधि आज राती १२ बजे सकिनै लाग्दा प्रशासनले १५ गतेसम्मलाई निषेधाज्ञा जारी गरेको हो । सिलको अवधिमा पनि मानिसहरुले लापरबाही गरिरहेको र कोरोना संक्रमणको दर झन बढिरहेकाले १० दिनलाई निषेधाज्ञा जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी राईले बताउनुभयो । कोरोना नियन्त्रण तथा व्यवस्थापनको लागि जिल्लामा आवश्यक स्रोत साधन नभएको र पछि आउने भयावह स्थितिलाई रोक्न निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ । निषेधाज्ञा अवधिभरमा औषधी र अत्यावश्यकीय खाद्यान्न पसल बाहेकका सबै पसलहरु बन्द हुनेछन् । खाद्यान्न पसल बिहान ७ देखि ९ र साझको ५ देखि ७ बजेसम्म खुल्नेछन् ।

यस्तै बैंक, वित्तिय संस्थाहरु पनि पूर्ण रुपले बन्द रहने छन् । एटिएम सेवा भने सञ्चालन हुने छ । सवारी साधन सञ्चालनका साथै मानिसको हिडडुलमा पनि रोक लगाइएको छ । यस्तै बाहिरी देश तथा जिल्लाबाट आएकाहरु स्थानीय प्रशासन तथा वडा कार्यालयमा सम्पर्क गरी अनिवार्य १० दिनसम्म होम क्वारेन्टाईनमा बस्नुपर्ने छ । प्रशासनका अनुसार सरकारी कार्यालयमा एक चौथाई कर्मचारीको उपस्थितिमा काम गरिने छ । निषेधाज्ञालाई थप कडाई गर्न सक्रियताका साथ प्रहरी परिचालन गरिने छ । निषेधाज्ञा अवधिभरमा आदेश विपरितका कार्य गरेमा कारबाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  १९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update