Kakhara सबैको खबर सम्पूर्ण खबर
स्ववियु निर्वाचन: रुकुम पश्चिमका कुन क्याम्पसमा कति विद्यार्थी सङ्गठन दर्ता ? 

त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देशभरका क्याम्पसमा आगामी चैत्र ५ गते स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुँदै छ । स्ववियु निर्वाचन कार्य तालिका अनुसार क्याम्पसमा सङ्गठन दर्ताको काम सम्पन्न भइसकेको छ । रुकुम पश्चिमका क्याम्पसमा पनि विद्यार्थी सङ्गठन दर्ता भएका छन् । जिल्लामा टियुका ७ वटा सामुदायिक क्याम्पस रहेका छन् । यी क्याम्पसमा निर्धारित समय मङ्गलवार सङ्गठन दर्ता भएका हुन् । सबैभन्दा बढी रुकुमेली क्याम्पस मुसिकोट र सिम्रुत क्याम्पस त्रिवेणी ६/६ वटा विद्यार्थी सङ्गठन दर्ता भएका छन् ।

रुकुमेली क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), नेपाल विद्यार्थी सङ्घ (नेविसंघ), अखिल नेपाल विद्यार्थी युनियन (समाजवाद), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल (क्रान्तिकारी) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) नेकपा बहुमतले सङ्गठन दर्ता गराएको निर्वाचन समितिले जनाएको छ ।

उता सिम्रुतु क्याम्पसको स्ववियु निर्वाचन समितिका अनुसार अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) सी, अनेरास्ववियु (समाजवादी), नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बहुमत र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सङ्गठन दर्ता गराएका छन् । सानीभेरी शिक्षा क्याम्पस, राडीजिउला शिक्षा क्याम्पस र स्यार्पू बहुमुखी क्याम्पसमा ५/५ तथा शीतल क्याम्पस चौरजहारी र जहारी क्याम्पस खोलगाउँमा ४/४ वटा संगठनले चुनावका लागि सङ्गठन दर्ता गरेका छन् ।

सानीभेरी शिक्षा क्याम्पसमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, अखिल क्रान्तिकारी र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) दर्ता भएका छन् । राडी जिउला शिक्षा क्याम्पसमा अखिल क्रान्तिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी)ले सङ्गठन दर्ता गराएका छन् ।

स्यार्पू बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल विद्यार्थी युनियन (समाजवादी) दर्ता भएका छन् । शीतल क्याम्पस चौरजहारीमा अखिल क्रान्तिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन तथा जहारी क्याम्पस खोलागाउँमा पनि अखिल क्रान्तिकारी, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, नेपाल विद्यार्थी सङ्घ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन दर्ता भएको सम्बन्धित क्याम्पसका स्ववियु निर्वाचन समितिले जनाएका छन् । 

टियु स्ववियु निर्वाचन कार्य तालिका अन्तर्गत फागुन २१ मा मतदाता सूची प्रकाशित गर्ने, फागुन २५ मा मतदाता सूची उपर दाबी विरोध गर्ने, सोही दिन नै मतदाता सूची उपर दाबी विरोधको छानबिन गरी अन्तिम नामावली प्रकाशित गर्ने र चैत ५ गते बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने समय तोकिएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update