Kakhara सबैको खबर सम्पूर्ण खबर
अमेरिकाबाट डिपाेर्ट गरिएका मध्ये रुकुम पश्चिम र पूर्वका २–२ जना, अरू कहाँका ?
अमेरिकाबाट डिपाेर्ट गरिएकालाई नेपाल लिएर आएकाे अमेरिकी विमान ।

अमेरिकाको टेक्सस राज्यबाट डिपोर्ट भएका ९ जना नेपाली काठमाडौँ आइपुगेका छन् । उनीहरूमध्येका ८ जनालाई अमेरिकन प्रहरीले चार्टड उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेका हुन् । उनीहरूलाई छाड्न ४ जना अमेरिकी प्रहरी आएका थिए । अमेरिकन प्रशासनले उनीहरूलाई हातमा हतकडी र खुट्टामा चेन लगाएर ल्याएको त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका अधिकृतहरूले बताएका छन् । 

डिपोर्ट हुनेहरूमा दाङका ३ जना, रुकुम पूर्वका २ जना, रुकुम पश्चिमका २ जना, रोल्पाका १ जना र डोटीका १ जना छन् । विमानस्थल अध्यागमनमा कार्यरत एक जना अधिकृतका अनुसार सुस्मा, लक्ष्मण, सुकुमार, हिमाल, मोहन, टोप, कमल र दीपक डिपोर्ट हुनुभएको हो ।

उहाँहरू लाखौँ खर्चेर अमेरिका पुग्नुभएको थियो । तर, सिमानाको पर्खाल कटेको केही बेरमा नै पक्राउ परेर हिरासतमा पुगेको खुलेको छ । बुधवार फर्काइएकाहरू अमेरिकामा लामो समयदेखि डिटेन्सन ‘अफिसियल कस्टडी’मा रहेको मानव बेचबिखन ब्युरोका एसपी नरेन्द्र कुँवरले बताउनुभयो । 

फर्काएकाहरूलाई बबरमहल स्थित ब्युरोको कार्यालयमा ल्याएर अनुसन्धान अधिकृतहरूले सोधपुछ गरिरहेका छन् । डिपोर्ट गरिएकाहरू त्यहाँ ५ देखि ९ महिनासम्म डिटेन्समा बसेको एसपी कुवरले जानकारी दिनुभयो । मानव बेचबिखन विरुद्धको कानुन अनुसार उहाँहरू पीडित भए नभएको बारेमा सोधपुछ र परामर्श गरिरहेको उहाँको भनाई छ ।

कुँवरका अनुसार प्रतिव्यक्ति ५० लाखदेखि १ करोडसम्म खर्च गरेकाहरूलाई अमेरिकाले फिर्ता गरेको हो । फर्किनेहरू अधिकांश २० देखी ३५ वर्ष उमेर समूहका छन् । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै उनले अवैध आप्रवासीहरूप्रति कडा नीति लिएका छन् । 

अमेरिकाबाट फर्काएकाहरूसँग ब्युरोका अनुसन्धान अधिकृतहरूले त्यहाँ पठाउने समूहबारे सोधपुछ गरेका छन् । तर, उनीहरूले बिचौलियाबारे बताउन अस्वीकार गरेका छन् । उनीहरूले भनेका छन्, ‘कसै विरुद्ध पनि उजुर गर्दैनौँ ।’

केही दिनअघि अमेरिका हिँडेका युवक ११ महिनामा बिचबाटै फर्किएका थिए । ११ महिनामा उनी नाइजेरिया पुगेर फर्किएका हुन् ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update