
रुकुम पश्चिममा पनि २६ औँ यदु स्मृति दिवस मनाइएको छ । नेकपा एमाले चौरजहारी नगर कमिटीको आयोजनामा चौरजहारीमा रहेको यदु स्मृति प्रतिष्ठानको भवनमा यदु स्मृति दिवस मनाइएको हो ।
दिवसको अवसरमा “सहिदको बलिदानी: हाम्रो जिम्मेवारी” विषयक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा मावि खहरेका कविता बुढा प्रथम, मावि खोलागाँउका केशव ओली दोस्रो र शीतल माविका सुदाम गौतम तेस्रो तथा भ्याली पब्लिकका दिया लामिछाने र आधारभूत विद्यालयका भावना जैसी सान्त्वना हुनुभएको छ ।
कार्यक्रममा बोल्दै पाटीका केन्द्रीय परिषद् सल्लाकार सदस्य गोविन्द केसीले यदु गौतमको सपना साकार पार्न सबै लाग्नुपर्ने बताउनुभयो । यदु गौतमले देखेको सपना अझैसम्म पुरा हुन नसकेको उहाँको भनाई छ । यदुले नेकपा एमालेमा गरेको योगदानलाई सधैँ स्मरण गरिने एमाले जिल्ला कमिटी अध्यक्ष नन्दराम देवकोटाले बताउनुभयो । उहाँको हत्या पछि जिल्लाको कम्युनिस्ट आन्दोलनमा ठुलो धक्का भएको देवकोटाको भनाइ थियो ।
दिवसको अवसरमा यदुले रुकुमको राजनीतिमा गरेको योगदानको स्मरण गरिएको थियो । चौरजहारी नगर कमिटी अध्यक्ष अतिराम ओलीको अध्यक्षता र केन्द्रीय सल्लाहकार गोविन्द केसीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।