
राष्ट्रियसभा सदस्य कृष्णबहादुर रोकायाले रुकुममा रहेका दुवै विमानस्थलबाट उडान हुन छाडेको भन्दै आवश्यक प्रक्रिया पुर्याएर उडान नियमित गर्न सरकारसँग आग्रह गर्नुभएकाे छ ।
बिहीबारको राष्ट्रियसभा बैठकको शून्य समयमा बोल्दै सांसद रोकायले जिल्लाका दुवै विमानस्थलबाट उडान भर्ने व्यवस्था मिलाउन सांसदमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएकाे हाे । ‘जिल्लाका दुवै विमानस्थलबाट उडान हुन छाडेको छ । उडान नहुँदा जिल्लाका सर्वसाधारणले सास्ती खेप्नुपरेको छ त्यसैले मन्त्रालयले उडान सञ्चालन गर्न आवश्यक काम थालोस्’, रोकायले भन्नुभयाे ।
जिल्लामा २ वटा विमानस्थल रहेकामा चाैरजहारी विमानस्थल लामाे समय देखि बन्द रहेकाे छ । कच्चि धावन मार्ग हुँदा सञ्चालनमा रहेपनि धावनमार्ग कालाेपत्रे भएपछि भने विमानस्थल बन्द रहेकाे छ । सल्ले विमानस्थल सञ्चालनमा रहेपनि कही समय देखि नेपाल एयरलाइन्सकाे सेवा बन्द छ भने निजी एयरलाइन्सले नेपालगञ्ज-रूकुम उडान भरिरहेकाे छ ।