
अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा सप्तरीमा दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका वडा नम्बर १२ घर भई हाल वडा नम्बर ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको पत्रकार सम्मेल गरी जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको हो । जिल्ला प्रहरी प्रमुख, प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले गत २०८० साल असारमा अर्को व्यक्तिको नागरिकता भेटेपछि दुवै जनाले मिलेमतोमा त्यसको दुरुपयोग गरी ठगी गरेको आरोपमा पक्राउ गरिएको बताउनुभयो ।
नागरिकतामा आरोपितमध्ये अरुणको फोटो टाँसेर विराटनगरस्थित सिटिजन्स बैङ्कमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौँ रकम ठगी गरिरहेको खुल्न आएपछि पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
दुवै जनाविरुद्ध नागरिकतासम्बन्धी कसुर र ठगीमा जाहेरी परेको र अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ । रासस