
त्रिभुवन विश्वविद्यालयका क्याम्पसमा चैत्र ५ गते तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अन्तर्गत रुकुम पश्चिमका ४ क्याम्पसको अध्यक्षमा अखिल क्रान्तिकारीका उम्मेदवार निर्विरोध भएका छन् । निर्वाचन तालिका अनुसार आज मनोनयन दर्ताको समय थियो ।
४ क्याम्पसको अध्यक्षमा अखिल क्रान्तिकारीको एकल उम्मेदवारी परेको हो । यी क्याम्पसमा सहमतिमा जाने निर्वाचनका लागि दर्ता भएका विद्यार्थी सङ्गठन बिच यसअघि नै सहमति भइसकेको थियो । सो अनुसार अध्यक्ष देखि सबै पदमा निर्विरोध भएको सम्बन्धित क्याम्पसका निर्वाचन समितिले जनाएका छन् ।
शीतल क्याम्पस चौरजहारीमा अखिल क्रान्तिकारीका प्रकाश डाँगी, राडिजिउला शिक्षा क्याम्पसमा सुप्रिम ओली, सिम्रुतु क्याम्पसमा दीपेन्द्र ओली र सानीभेरी शिक्षा क्याम्पसमा विरभान भण्डारी निर्विरोध निर्वाचित भएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक किरण विश्वकर्माले जानकारी दिनुभयो ।
स्यार्पु बहुमुखी क्याम्पसमा आफ्नो सङ्गठनबाट कोषाध्यक्ष सहित ४ जना सदस्य निर्विरोध भएको उहाँले बताउनुभयो । उहाँका अनुसार निर्विरोध भएका क्याम्पसमा सबै सङ्गठनको भागबन्डा मिलाइएको छ । स्यार्पु, जहारी क्याम्पस खाेलागाउँ र रूकुमेली क्याम्पस मुसिकोटमा चुनाव हुने भएको छ ।