
नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको केन्द्रीय सचिवमा मुकुन्दप्रसाद शर्मा निर्वाचित हुनुभएको छ । सल्यान जन्मथलो भई रुकुम पश्चिममा कर्मथलो बनाई मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसमा उपप्राध्यापकका रूपमा कार्यरत शर्मा लोकप्रिय मत सहित निर्वाचित हुनुभएको हो ।
बुधवार मोबाइल एसएमएस मार्फत भएको निर्वाचनमा शर्मा १ सय १६ मत पाएर विजयी हुनुभयो । उहाँका प्रतिस्पर्धी लक्ष्मण सिंहले ८५ र केशव खड्काले २१ मत मात्र प्राप्त गर्नुभयो । निर्वाचित भएपछि शर्माले आफूलाई अमूल्य भोट दिएर निर्वाचित गराउने सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको छ ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमा नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठनको केन्द्रीय सचिवमा आन्तरिक लोकतन्त्रको जीवन्त अभ्यासबाट मलाई केन्द्रीय सचिवको जिम्मेवारी प्रदान गर्नुहुने आदरणीय सम्पूर्ण केन्द्रीय समिति सदस्यज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु । सङ्गठनको जीवनमा पहिलो पटक नयाँ प्रयोगको प्रतिस्पर्धामा रहनुहुने प्रिय ! सरहरूलाई आभार व्यक्त गर्दै मतदानको प्रक्रियामा संलग्न हुने सङ्गठनका सम्पूर्ण पदाधिकारीहरू,केन्द्रीय समिति सदस्यज्यूहरूलाई विशेष धन्यवाद सहित नमन व्यक्त गर्न चाहन्छु । निर्वाचन प्रक्रियालाई सरल माध्यमबाट सम्पन्न गर्ने निर्वाचन समितिलाई समेत आभार व्यक्त गर्दछु, लेख्नुभएको छ ।
साथै उहाँले परिवर्तन तथा रूपान्तरणको विरासत, कर्मशील प्रतिबद्धता, पेसागत हक र अधिकार,प्राज्ञिक कार्यकुशलता, अपूर्व संस्कृतिको निर्माण तथा निष्ठालाई अझै माथि उठाउने वैचारिक प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।