
सिद्धार्थ बैंक लिमिटेडले रूकुम पश्चिमकाे सानीभेरी गाउँपालिका–१, स्थित जनप्रिय आधारभूत विद्यालय भवनको शिलान्यास भएको छ । २०८० साल कार्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्ये एउटा भवन सिद्धार्थ बैंककाे सहयोगमा बन्न लागेको हो । उक्त भवनको आज औपचारिक रूपमा शिलान्यास भएको हो ।
बैंककाे लगानीमा दुई तले ४ काेठे भवन बन्ने सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्टले जानकारी दिनुभयाे । कुल १७५ जना विद्यार्थी अध्ययनरत यस विद्यालयमा बाल शिक्षा देखि कक्षा ८ सम्मको पठनपाठन भइरहेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत भूकम्प प्रभावित ठाउँका बालबालिकाको पढ्न पाउने अधिकार सुनिश्चित गर्न बैंकले भवन निर्माण गर्न लागेको जनाएको छ ।
`बैंकले सधैँ बालबालिकाको उचित र गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै आएको छ । आजका बालबालिका नै समृद्ध राष्ट्र निर्माणका आधार हुन् त्यसैले उनीहरूलाई सीप, ज्ञान र नैतिक मूल्यमा आधारित शिक्षाद्वारा सक्षम बनाउनु भविष्य निर्माण तर्फको पहिलो र महत्वपूर्ण पाइला हो । यस दृष्टिकोणलाई आत्मसात् गर्दै बैंकले प्रारम्भिक शिक्षा मात्र नभई, उच्च शिक्षामा समेत दीर्घकालीन प्रभाव पर्ने सहयोग गर्दै आइरहेको छ,´ बैंकले विज्ञप्ति मार्फत भनेको छ ।
दक्ष, जिम्मेवार र योग्य नागरिक उत्पादनका लागि उच्च शिक्षामा केन्द्रित प्रयास अत्यावश्यक भएकाले बैंक यस क्षेत्रलाई विशेष प्राथमिकतामा राख्दछ, बैंकले उल्लेख गरेको छ ।
दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको र आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको बैंकले जनाएको छ ।
शिलान्यास कार्यक्रममा सानीभेरी गाउँपालिका अध्यक्ष विर्खबहादुर विष्ट, उपाध्यक्ष कमला रोका पुन, वडा नं.१ का वडा अध्यक्ष टेकबहादुर पुन, कार्यपालिका सदस्य सेते कामी, अभिभावक संघका अध्यक्ष तुताराम खड्का, जनप्रिय आधारभूत विद्यालयका प्रधानाध्यापक लाले राना मगर, सिद्धार्थ बैंक लिमिटेड मुसिकोट शाखाका शाखा प्रबन्धक ओपेन्द्र विष्ट लगायत शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका सदस्य तथा अभिभावकहरूको उपस्थिति रहेको थियो ।