
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ ट्याखोलामा आजबाट यु–१६ पालिका स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मुसिकोट नगर प्रमुख महेन्द्र केसीले ब्यानर पढेर उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख केसीले क्रिकेट खेलाडी उत्पादनको लागि मुसिकोट नगरपालिका सहयोग गर्न तयार रहेको र सकेको सहयोग गर्ने समेत प्रतिबद्धता व्यक्त गर्नुभयो । खेल क्षेत्रबाट जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउनुपर्ने उहाँको भनाई थियो । खेल क्षेत्रलाई अगाडी बढाउन नगरपालिका सधै सकारात्मक रहेको नगर प्रमुख केसीले बताउनुभयो ।
पहिलो पटक आयोजना गरिएको पालिका स्तरीय प्रतियोगितामा चार वटा स्थानीय तहबाट खेलाडीले सहभागिता जनाएको आयोजक क्रिकेट सङ्घ रुकुम पश्चिमले जनाएको छ । प्रतियोगितामा मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाका खेलाडीले सहभागिता जनाएको क्रिकेट संघका जिल्ला सचिव मनिष खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार आठविसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाबाट खेलाडीहरूले प्रतियोगितामा सहभागी जनाएका छैैनन् । यही प्रतियोगिताबाटै जिल्ला स्तरीय यु–१६ खेलाडी छनौट समेत गरिने उहाँले जानकारी दिनुभयो ।
उद्घाटन समारोहमा त्रिवेणी गाउँपालिका र मुसिकोट नगरपालिको टिमले प्रतिस्पर्धा गरेका थिए । खेल शुक्रवार सकिने आयोजकले जनाएको छ । प्रतियोगितामा विजेता हुने समूहले नगद ३० हजार रुपैयाँसहित कप प्रमाणपत्र प्राप्त गर्दा उप विजेता हुने समूहले नगद २० हजार रुपैयाँसहित कप र प्रमाणपत्र प्राप्त गर्ने छ । खेल अवधिभर उत्कृष्ट प्रदर्शन गर्ने एक जना खेलाडीलाई साइकलको व्यवस्था गरिएको छ । त्यस्तै प्रत्येक विधाका उत्कृष्ट खेलाडीहरूलाई समेत आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । खेलाडीलाई खेल अवधिभर नास्ताको व्यवस्था गरिनुका साथै प्रतियोगितामा सहभागीको लागि कुनै शुल्क उठाएको छैन । प्रतियोगिताको सह आयोजक मुसिकोट ५ बागबजारमा रहेको देव्यनी स्पोर्टस रहेको छ ।
जिल्ला क्रिकेट संघका उपाध्यक्ष गोपाल लामिछानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको विशेष आतिथ्यता रहेको थियो । त्यसैगरी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, सशस्त्र प्रहरी बलका प्रमुख मदनबहादुर धानुक, ६ नम्बर वडा अध्यक्ष भानु मल्ल, १ नम्बर वडाध्यक्ष ज्ञानुचन्द्र चन्द, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, पत्रकार लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन क्रिकेट संघका सचिव मनिष खड्काले गर्नुभएको थियो ।