Kakhara सबैको खबर सम्पूर्ण खबर
पालिका कप: मुसिकोट र सानीभेरीकाे विजयी सुरुवात

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ को ट्याखाेलामा आजबाट सुरु भएको प्रथम पालिका कप क्रिकेट प्रतियोगितामा मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिकाले विजयी सुरुवात गरेका छन् । उद्घाटन खेलमा मुसिकोटले त्रिवेणी गाउँपालिकालाई २० रनले पराजित गरेको हो ।

टस जितेर पहिला ब्याटिङको निम्तो पाएर ब्याटिङमा उत्रिएको मुसिकोटले ९.३ ओभरमा अलआउट हुँदै ८० रन बनाएको थियो । मुसिकोटका विक्रम ओलीले २४ रनको पारी खेलेका थिए । ८१ रनको लक्ष सहित जबाफी ब्याटिङमा उत्रिएको त्रिवेणी ६० रनमा समेटियो । मुसिकोटको जितमा विक्रम ओलीले सर्वाधिक ४ लिए । मुसिकोटलाई जिताउन ब्याटिङ र बलिङका उत्कृष्ट प्रदर्शन गरेका विक्रम ओली प्लेयर अफ द म्याच घोषित भए ।

दोस्रो खेलमा सानीभेरीले चौरजहारी नगरपालिकालाई ५ विकेटले पराजित गर्याे । टस जितेर ब्याटिङ रोजेको चौरजहारी ७० रनमा समेटियो । चौरजहारीलाई सस्तैमा समेट्न सानीभेरीका भुवन भण्डारीले ३ विकेट लिए । ७१ रनको लक्ष पछ्याएको सानीभेरीले १० ओभरमा ५ विकेटको क्षतिमा लक्ष पूरा गर्याे । बलिङ र ब्याटिङमा राम्रो गरेका सानीभेरीका भुवन भण्डारी प्लेयर अफ द म्याच बने । उनले १४ रनको योगदान गरेका थिए ।

प्रतियोगिताको भोलीको पहिलो खेल मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिका बिचमा बिहान ९ बजे सुरु हुने आयोजक जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ । दोस्रो खेल चौरजहारी नगरपालिका र त्रिवेणी गाउँपालिका बिचमा हुने छ । प्रतियोगितामा मुसिकोट, चौरजहारी, सानीभेरी र त्रिवेणी सहभागी छन् । सहभागी सबै चार टिमले एक अर्कासँग खेल्ने छन् भने अंक तालिकाको १ , २ नम्बरमा रहने टिमले फाइनल खेल्ने जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयो ।

फाइनल खेल शनिवार हुने छ । प्रतियोगिताको विजेताले नगद ३० हजार ट्रफि र प्रमाणपत्र पाउँदा उप विजेताले नगद २० हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने ओलीले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर र फिल्डरले समेत मेडल र प्रमाण पत्र पाउनेछन् । याे खेलबाट जिल्लाको टिम समेत छनोट गरिने ओलीले बताउनुभयो । उक्त टिमले राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनोटमा भाग लिने छ । 

जिल्लामा पहिलो पटक १६ वर्ष मुनिको प्रतियोगिता आयोजना भएको हो । जिल्लाको क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघ र देव्यानी स्पाेर्टस मुसिकोट ५ बागबजार मिलेर प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको आज मुसिकोट नगर प्रमुख महेन्द्र केसीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

प्रकाशित मिति: बिहीबार, वैशाख १८, २०८२  २०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update