
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ को ट्याखाेलामा जारी प्रथम पालिका कप यु-१६ क्रिकेट प्रतियोगिताको उपाधिका लागि मुसिकोट नगरपालिका र सानीभेरी गाउँपालिका भिड्ने भएका छन् ।
शुक्रवार समूह चरणका खेल सकिएपछि फाइनल खेल खेल्ने टिमको टुङ्गो लागेको हो । सानीभेरी अपराजित रहँदै ग्रुप टप गरेर फाइनल पुगेको हो भने मुसिकोट ग्रुपमा दोस्रो स्थानमा रहँदै फाइनल पुगेको आयोजक जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ ।
आज भएका समूह चरणका खेलमा सानीभेरीले मुसिकोट नगरपालिका र त्रिवेणी गाउँपालिकालाई पराजित गर्याे । उसले पहिलो खेलमा बिहीबार चौरजहारीलाई पराजित गरेको थियो ।
मुसिकाेटले पहिलो खेलमा बिहीबार त्रिवेणी गाउँपालिका र शुक्रवार चौरजहारी नगरपालिकालाई पराजित गरेको हो । एक खेल जितेको चौरजहारी र कुनै पनि खेल जित्न नसकेको त्रिवेणी भने समूह चरणबाटै बाहिरिए ।
फाइनल खेल शनिवार हुने जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका कोषाध्यक्ष नरबहादुर ओलीले जानकारी दिनुभयो । फाइनल खेल शनिवार ९:३० देखि सुरु हुने उहाँको भनाई छ ।
प्रतियोगितामा मुसिकोट, चौरजहारी, सानीभेरी र त्रिवेणी सहभागी भएकामा सबै चार टिमले एक अर्कासँग खेलेपछि अंक तालिकाको १ र २ नम्बरमा रहने टिम फाइनल पुगेका हुन् ।
प्रतियोगिताको विजेताले नगद ३० हजार ट्रफि, मेडल र प्रमाणपत्र पाउँदा उप विजेताले नगद २० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने ओलीले जानकारी दिनुभयो । त्यस्तै उत्कृष्ट खेलाडी, उत्कृष्ट ब्याटर, बलर र फिल्डरले समेत पुरस्कार पाउनेछन् । याे खेलबाट जिल्लाको टिम समेत छनोट गरिने ओलीले बताउनुभयो । उक्त टिमले राष्ट्रिय प्रतियोगिताका लागि कर्णाली प्रदेश स्तरीय छनोटमा भाग लिने छ ।
जिल्लामा पहिलो पटक १६ वर्ष मुनिको प्रतियोगिता आयोजना भएको हो । जिल्लाको क्रिकेट विकासका लागि जिल्ला क्रिकेट संघ र देव्यानी स्पाेर्टस मुसिकोट ५ बागबजार मिलेर प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिताको आज मुसिकोट नगर प्रमुख महेन्द्र केसीले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।