Kakhara सबैको खबर सम्पूर्ण खबर
पालिका कप क्रिकेट: भुवन सर्वोत्कृष्ट, पाए साइकल उपहार 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ स्थित ट्याखोला क्रिकेट मैदानमा सम्पन्न प्रथम पालिका कप यु–१६ क्रिकेट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सानीभेरी गाउँपालिकाका भुवन भण्डारी बनेका छन् । आफ्नो टिमलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलका भुवन प्लेयर अफ द सिरिज बन्न सफल भएका हुन् । उनको अलराउण्ड प्रदर्शनमा सानीभेरीले प्रथम पालिका कप यु–१६ क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । प्रतियोगिता अवधिमा उनले ब्याटिङ तर्फ ५१ रन बनाएका भुवनले बलिङ तर्फ ७ विकेट लिन सफल भएका थिए ।

फिल्डिङमा समेत उनले राम्रो प्रदर्शन गरेका थिए । प्लेयर अफ द सिरिज बनेका उनले साइकल उपहार पाएका छन् । मेडल, प्रमाण सहित साइकल उपहार दिएको र यसले उनी सहित अन्य खेलाडीमा पनि हौसला मिल्ने आयोजक जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमका सदस्य कुलप्रसाद ओलीले जानकारी दिनुभयो । साइकल सह आयाेजक देव्यानी स्पाेर्टसले व्यवस्था गरेकाे हाे । 

त्यस्तै प्रतियोगितामा अन्य व्यक्तिगत इभेन्टमा पनि खेलाडी पुरस्कृत गरिएको छ । प्रतियोगिता अवधिभर १० विकेट निकालेका सानीभेरीका किरण राना उत्कृष्ट बलर, ६१ रन प्रहार गरेका मुसिकोटका विक्रम ओली उत्कृष्ट ब्याट्सम्यान र मुसिकोटकै सुभम बुढा उत्कृष्ट फिल्डर बन्न सफल भएका छन् ।

मुसिकोट खलङ्गाको बराहटाकुरा स्थित नेट प्राक्टिस स्थलमा क्रिकेट सिकिरहेका मध्ये वार्षिक परीक्षामा उत्कृष्ट नम्बर ल्याउने खेलाडीलाई सम्मान गर्ने कार्यक्रम अन्तर्गत विनय धिताललाई १ हजार रुपैयाँले पुरस्कृत समेत गरिएको सदस्य ओलीले जानकारी गराउनुभयो । जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिम र देव्यानी स्पोर्टस मुसिकोट १ को संयुक्त आयोजनामा वैशाख १८ गतेबाट सुरु भएको प्रतियोगिता शनिवार सम्पन्न भएको छ । प्रतियोगिताको उपाधि मुसिकोटलाई पराजित गर्दै सानीभेरीले जित्न सफल भएको छ । प्रतियोगितामा जिल्लाका ४ पालिकाको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  ०८:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update