Kakhara सबैको खबर सम्पूर्ण खबर
मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना भए पनि गति लिन सकेन : राष्ट्रियसभा सदस्य राेकाय
राष्ट्रियसभा सदस्य राेकाय । फाइल फाेटाे ।

राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण  गराएकाछन् । सांसद कृष्णबहादुर रोकायाले मध्यपहाडी लोकमार्ग राष्ट्रिय गौरवको आयोजना भए पनि गति लिन नसकेकाले यथासीघ्र सम्पन्न गर्नुपर्नेमा ध्यानाकर्षण गराउनुभयो । सांसद घनश्याम रिजालले दोलखाको लामाबगर फलाक नाकाले आयात र निर्यात तथा पर्यटनको माध्यमबाट लाभ लिन सक्ने उल्लेख गर्दै सञ्चालनमा ल्याउन माग गर्नुभयो ।

सांसद पूजा चौधरीले सुशान्त वली र प्रिसा साहको मृत्युप्रति समवेदना व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्नुपर्ने बताउनुभयो । सांसद रुकमणि कोइरालाले प्रविधिको विकाससँगै सामाजिक सञ्जालको दुरुपयोगका घटना बढेकाले नियमन हुन आवश्यक रहेको बताउनुभयो । सांसद रेणु चन्दले अछामको जयगढ बजार र साँफेबगरको हाटबजारमा भएको आगलागीले जनधनको क्षति पुगेकाले अस्थायी आवास र बजार पुनःस्थापन गर्न माग गर्नुभयो ।

सांसद विष्णुकुमारी सापकोटाले वर्खायाम सुरु हुन लाग्दा सडक निर्माण चाँडो हुनुपर्नेमा जोड दिनुभयो । सांसद विष्णुदेवी पुडासैनीले बालविवाहका घटना हुन नदिन काम गर्नुपर्छ भन्नुभयो । सांसद विष्णुबहादुर विश्वकर्माले काठमाडौँको तीनकुने घटनाको छानबिनको माग गर्नुभयो । सांसद श्रीकृष्णप्रसाद अधिकारीले लेखा समितिमा परेका उजुरी अलपत्रमा परेको उल्लेख गर्दै आर्थिक अनियमितता रोक्न सम्बोधन गर्नुपर्ने माग गर्नुभएको छ ।

सांसद सावित्री मल्लले दैलेखमा प्राकृतिक विपद्बाट क्षति पुगेको र विपद् न्यूनीकरणका लागि उपाय खोज्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २२, २०८२  १५:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update