-1746603901.jpeg)
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले भारत र पाकिस्तानबीच विकसित पछिल्लो तनाव र नेपाललाई पार्नसक्ने प्रभावबारे सचेत रहनुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले भूराजनीतिक संवेदनशीलता र खुला सिमानाका कारण भारत र पाकिस्तानबीच युद्ध सुरु भएको भन्दै यसले नेपाललाई पार्ने अल्पकालीन र दीर्घकालीन प्रभावहरूका बारेमा नेपाल सरकारले समयमै सचेत भएर छलफल अघि बढाउन अनुरोध गर्नुभयो ।
उहाँले दक्षिणपूर्वी एसियाली मुलुकमा द्वन्द्व चर्किएको र यतिबेला राष्ट्रिय राजनीतिक दलको एकता जरुरी भएको औँल्याउनुभयो । संविधान संशोधन, सङ्घीयताको सवलीकरण, संस्कृतिको संरक्षण र प्रवद्र्धनलगायत विषयमा सबै दलहरूबीच न्यूनतम सहमति गरी आमजनतालाई आशा जगाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद अच्युतप्रसाद मैनालीले सरकारले दृढ सङ्कल्पसहित नयाँ योजना र कार्यक्रमका साथ नीति तथा कार्यक्रम ल्याएको भन्दै यसलाई पारित गराउनेतर्फ सकारात्मक पहल हुनुपर्ने धारणा राख्नुभयो । सरकारले हिम्मत र साहसका साथ परम्परागत नीति तथा कार्यक्रमकलाई क्रमभङ्ग गर्दै ल्याएको उहाँको भनाइ छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रुपा सोशी (चौधरी)ले ठूलाठूला भ्रष्टाचार र अनियमितता नियन्त्रण गर्न सरकार सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । समाजवादोन्मुख अर्थव्यवस्थामा लैजान निजीकरणभन्दा सार्वजनिक निजी साझेदारी ढाँचालाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल विद्युत् प्राधिकरण घाटामा गएको विषय बाहिर आएको भन्दै प्राधिकरणलाई सबल र प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद चन्दा कार्की (भण्डारी) ले नेपाल राष्ट्र बैंकको गभर्नर पद झण्डै एक महिनादेखि रिक्त रहेको भन्दै चाँडो गभर्नर नियुक्ति गरेर मुलुकको आर्थिक अवस्था र वित्तीय प्रणालीलाई सुधार गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले देशमा आर्थिक समस्या बढिरहेको, सुशासन प्रवद्र्धन हुन नसकेको तथा उत्पादनशील र सेवा क्षेत्र उत्साहित नभएको अवस्थामा गभर्नरजस्तो संवेदनशील विषयमा सरकार र राजनीतिक दलहरू गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद विक्रम पाण्डेले बर्सातको समय सुरु हुन लागेको र यस वर्ष विगतको वर्षभन्दा बढी गर्मी हुने र अत्यधिक वर्षा सम्भावना रहेको मौसमविद्हरूले पूर्वानुमान गरिरहेका भन्दै समयमा सम्भावित जोखिम व्यवस्थापनको तयारी थाल्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले आकस्मिक राहत सामग्रीको ढुवानी र उद्धार कार्यलाई चुस्त दुरुस्त बनाउन विपद् व्यवस्थापनलाई सबल र प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले वरिष्ठ वामपन्थी नेताको दुःखद् निदनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदन प्रकट गर्नुभयो । उहाँले सुशासन प्रवद्र्धन र विकासलाई तीव्रता दिन सरकारले ढिलो गर्न नहुने धारणा राख्नुभयो । नागरिकको कष्टकर जीवनलाई ध्यान दिँदै बुटवल–नारायणगढ खण्ड यथाशीघ्र निर्माण सम्पन्न गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । रासस