Kakhara सबैको खबर सम्पूर्ण खबर
पशुपति माविमा इ–हाजिरी, अभिभावकले घरबाटै छोराछोरी स्कुल पुगेको र स्कुल छाडेको थाहा पाउने

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको पशुपति माविमा इ–हाजिरी जडान गरिँदै छ । शिक्षक र विद्यार्थीका लागि विद्यालयमा इ–हाजिरी जडानको काम सुरु भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर खड्काले जानकारी दिनुभयो । 

शिक्षक तथा विद्यार्थीको उपस्थितिलाई नियमित बनाउनका लागि यस्तो व्यवस्था गर्न लागिएको उहाँले बताउनुभयो । विशेष गरी विद्यार्थीको विद्यालय उपस्थिति नियमित बनाउन र विद्यार्थीको विद्यालय उपस्थितिका बारेमा अभिभावकलाई जानकारी दिने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको उहाँको भनाई छ । 

अब अभिभावकले आफ्नो छोरा छोरी कति बेला विद्यालय पुगे र कति बेला विद्यालयबाट निस्किए भन्ने विवरण आफ्नो मोबाइलमै प्राप्त गर्न सक्ने अध्यक्ष खड्काले बताउनुभयो । उहाँका अनुसार बिहान १० बजे विद्यालय पुगेपछि विद्यार्थीले इ–हाजिरी गर्ने र सोही लगत्तै अभिभावकको मोबाइलमा म्यासेज जाने छ भने सोही अनुसार अपराह्न ४ बजे विद्यालय छाड्दा पनि विद्यार्थीले इ–हाजिरी गर्ने र सो को जानकारी पनि अभिभावकको मोबाइलमा जाने छ ।

नेपालमा मात्र नभई विदेशमा रहेका अभिभावकले समेत आफ्ना छोराछोरीको विद्यालय उपस्थितिबारे जानकारी पाउने अध्यक्ष खड्काले बताउनुभयो । सिम तथा अनलाइनबाट समेत म्यासेज जाने व्यवस्था मिलाइने उहाँको भनाई छ । विद्यार्थी नियमित नहुने तथा पूरा समय विद्यालयमा नबस्ने समस्या यसले हल गर्ने उहाँको विश्वास छ । साथै यसले शैक्षिक गुणस्तर विकासमा समेत टेवा पुग्ने विश्वास गरिएको छ । 

यसका साथै विद्यालयले यस शैक्षिक सत्र देखि विद्यार्थी, शिक्षक, अभिभावकको लागि दैनिक रिपोर्ट बुक समेत लागु गरिने छ । 

त्यस्तै ५ कक्षासम्म विद्यालयमै खाजा खुवाउने कार्यक्रमलाई निरन्तरता दिई ६ देखि माथिकोले अनिवार्य आफै तयार गरी खाजा ल्याउने र त्यसको लागि अभिभावकले सहयोग गर्ने, कमजोर विद्यार्थीको लागि शिक्षक कार्यक्रम लागु गर्ने, सबै कक्षा कोठाको पठनपाठन सिसी क्यामराको सहायताले प्र.अ, विव्यस तथा शिक्षक अभिभावक संघ र आवश्यक परेको खण्डमा स्थानीय सरकारले समेत मोबाइलमा जुनसुकै समयमा जुनसुकै ठाउँबाट लाइभ हेर्न सक्ने व्यवस्था मिलाउने विद्यालयले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १६:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update