Kakhara सबैको खबर सम्पूर्ण खबर
ट्याखोला खेल मैदान विस्तारको काम सुरु 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ६ को ट्याखोला खेल मैदान विस्तारको काम सुरु भएको छ । हाल रहेको मैदानलाई थप ठुलो बनाउने गरी आजबाट खेलमैदान विस्तारको काम सुरु भएको हो । एडिबि निर्माण सेवा एन्ड सप्लायर्स प्रालिले कामको जिम्मा लिएको छ । असार मसान्तसम्म सक्ने गरी २६ लाख बजेटमा कामको जिम्मा लिएको निर्माण कम्पनीका किशोर क्षेत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार कटिङ गरेर मैदानलाई फराकिलो बनाउने र शौचालय तथा मञ्च निर्माणको काम हुने छ ।

खेलमैदान विस्तारका लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट ५० लाख बजेट आएको थियो । उक्त बजेट सामाजिक विकास कार्यालयबाट कार्यान्वयन भइरहेको छ । क्रिकेट मैदान बनाउने गरी मैदान विस्तारको काम सुरु भएको हो । जिल्ला क्रिकेट सङ्घको पहलमा तत्कालीन प्रदेश अर्थमन्त्री महेन्द्र केसीले उक्त योजनामा बजेट व्यवस्थापन गर्नुभएको थियो । मैदान विस्तार भएमा जिल्लामा क्रिकेट गतिविधि सञ्चालन गर्न सहज हुने जिल्ला क्रिकेट सङ्घ रुकुम पश्चिमले जनाएको छ । सङ्घका सचिव मनिष खड्काले यो मैदान यो वर्ष केही विस्तार हुने र थप विस्तार तथा भौतिक संरचना निर्माणको काम अझै बाँकी हुने बताउनुभयो ।

अहिले तत्काल हुने विस्तारले पनि यो मैदानमा क्रिकेट सहित अन्य खेल गतिविधि सञ्चालनमा सहजता आउने विश्वास उहाँले व्यक्त गर्नुभयो । मुसिकोट नगर प्रमुख महेन्द्र केसीले स्तरीय काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभएको छ । आज काम शुभारम्भका अवसरमा उहाँले यो मैदानलाई स्तरीय बनाउन नगरपालिकाले पहल गरिरहेको बताउनुभयो । अहिलेको बजेटले मैदानले पूर्णता नपाउने भए पनि हालको भन्दा राम्रो मैदान हुने र यसले खेल गतिविधि सञ्चालनमा सहजता आउने विश्वास व्यक्त गर्नुभयो । यस मैदानको पूर्णताका लागि नगरपालिका लागि परेको उहाँको भनाई थियो ।

विशेष गरी क्रिकेट मैदानका रूपमा यस खेल मैदानलाई स्तरोन्नति गर्ने योजना नगरपालिकाको रहेको उहाँले सुनाउनुभयो । सदरमुकाम भित्र क्रिकेट मैदानका लागि सबैभन्दा उपयुक्त ठाउँ ट्याखोला नै रहेको भन्दै उहाँले यो मैदानले पूर्णता पाएमा ठुलो क्रिकेट गतिविधिका साथै राष्ट्रपति रनिङ शिल्ड, मेयर कप लगायतका प्रतियोगिता गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । सानो भए पनि हाल यसै मैदानमा क्रिकेट सहित विभिन्न खेलकुद गतिविधि सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २४, २०८२  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update