
कर्णाली प्रदेश सरकारले १४ स्थानीय तहहरूसँग अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका लागि साझेदारी गरिएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले अपाङ्गता भएका व्यक्तिको उपचार, रोकथाम तथा पुनःस्थापनाका लागि स्थानीय तहमार्फत कार्यक्रम सञ्चालन गर्न लागेको हो ।मन्त्रालयद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा ‘स्थानीय तहका पदाधिकारी तथा सरोकारवालासँगको अभिमुखीकरण’मा कार्यक्रम सञ्चालनका लागि मन्त्रालय र स्थानीय तहहरूबीच साझेदारी गरिएको छ ।
साझेदारी कार्यक्रम सञ्चालनका निम्ति मन्त्रालयले सबै स्थानीय तहहरूबाट प्रस्तावना आह्वान गरेको थियो । जसमा कर्णालीका ७९ स्थानीय तहमध्ये १४ वटा प्रस्ताव पेस भएको मन्त्रालयका सामाजिक विकास महाशाखा प्रमुख सुवर्ण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सुर्खेतका भेरीगङ्गा, पञ्चपुरी नगरपालिका, चौकुने, सिम्ता गाउँपालिका, कालीकोटको रास्कोट नगरपालिका, सान्नीत्रिवेणी र शुभकालिका गाउँपालिकासँग साझेदारी गरिएको छ ।
यस्तै, रूकुमपश्चिमको चौरजहारी र मुसिकोट नगरपालिका, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका, दैलेखको महाबु गाउँपालिका, सल्यानको दार्मा गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र हुम्लाको सिमकोट गाउँपालिका रहेका छन् । ती स्थानीय तहमा करिब १० हजार अपाङ्गता भएका व्यक्तिहरू यसबाट लाभ लिनसक्ने अनुमान गरिएको यद्यपि कार्यक्रम सञ्चालन भने स्थानीय तहहरूले प्रस्ताव गरेअनुरूप हुने जनाइएको छ ।
मन्त्रालयले जारी गरेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना साझेदारी कार्यक्रम सञ्चालन निर्देशिकाबमोजिम कार्यक्रम सञ्चालन हुनेछ । सोहीअनुरूप अपाङ्गता रोकथाम तथा सहजीकरणसम्बन्धी कार्यक्रम, अपाङ्गता पहिचान र उपचार, अपाङ्गता भएका व्यक्ति र परिवारको जीवनस्तर सुधार लक्षित कार्यक्रम, संस्थागत सुदृढीकरणलगायतका कार्यक्रमको मुख्य क्रियाकलाप समावेश हुने जनाइएको छ ।
निर्देशिकाबमोजिम क्रियाकलाप सञ्चालनका लागि विभिन्न अन्तरराष्ट्रिय तथा राष्ट्रिय सङ्घ, संस्थासँग प्राविधिक सहकार्य गर्ने सक्ने व्यवस्थाअनुसार करूणा फाउण्डेसन नेपाल, एनएफडी–एन र युनिसेफसँग समन्वय सहकार्य गर्ने मन्त्रालयले जनाएको छ ।