
सिस्नुपानी नेपालको टोली रुकुम पश्चिममा आउने भएको छ । हास्यव्यङ्ग्य मार्फत भ्रष्टाचार, बेथिति लगायतका विषयमा खबरदारी गर्दै आएको सिस्नुपानी नेपालको टोली रुकुम पश्चिम पुग्ने भएको हो । उक्त टोलीले जिल्ला सदरमुकाम खलङ्गामा एक दिन कार्यक्रम गर्ने छ । जेठ ७ गते दिउँसो १ बजेदेखि सहिद प्रतिष्ठानको हल मुसिकोट नगरपालिका ५ सेरिगाउँमा कार्यक्रम हुने सुनिश्चित भएको रुकुमेली वाङमय अधिष्ठानका सचिव पूर्ण ओलीले जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली सिस्नुपानी कार्यक्रम अन्तर्गत जिल्लामा कार्यक्रम हुन लागेको हो ।
ट्रान्सपरेन्सी इन्टरनेशनलको सहकार्यमा कार्यक्रम हुन लागेको हो । यस कार्यक्रमको संयोजन मुसिकोट नगरपालिकाले गर्ने छ भने कार्यक्रमको समन्वय र सहजीकरण जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिम र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमले गर्ने सचिव ओलीले जानकारी गराउनुभयो । उक्त कार्यक्रम निःशुल्क रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सिस्नुपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे; उपाध्यक्ष त्रय मनोज गजुरेल, अर्जुन पराजुली, धिरेन्द्र प्रेमर्षि; महासचिव टङ्कराज आचार्य, सहसचिव सरोज घिमिरे, सदस्यद्वय शिशिर योगी र चक्र दवाडीका साथै ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका तर्फबाट अध्यक्ष मदन शर्मा र कोअर्डिनेटर विनोद भट्टराई उपस्थित हुनुे कार्यक्रम रहेको बताइएको छ । सिस्नुपानी नेपाल मूलतः नेपाली साहित्य, कला संरक्षण र प्रवद्र्धन गर्न खोलिएको संस्था हो ।
हास्यव्यङ्ग्यको माध्यमबाट सामाजिक, राजनीतिक र सांस्कृतिक विषयमा जनचेतना फैलाउने मुख्य उद्देश्य राखेको यस संस्थाले भ्रष्टाचारको उन्मूलन र सुशासन स्थापनाको लागि सरोकारवालाहरूलाई व्यंग्यात्मक रूपमा घचघच्याउदै आइरहेको छ । खासगरी सिस्नुपानी नेपालको देउसी भैलो निकै चर्चित छ । यसले देउसी भैलोका साथै गाईजात्रा, कुशे औँसीजस्ता पर्वहरूमा सन्देशमूलक कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ ।
काठमाडौँमा भेटघाट प्रायः दुर्लभ मानिने हास्यव्यङ्ग्य क्षेत्रका ख्यातिप्राप्त हास्यव्यङ्ग्य क्षेत्रका कलाकारहरू कर्नाली सिस्नुपानी कार्यक्रम लिएर रुकुम पश्चिममा आउनु जिल्लावासीको लागी गर्वको विषय भएको रुकुमेली वाङमय अधिष्ठानका सचिव पूर्ण ओलीले बताउनुभयो । यो कार्यक्रममा स्थितिका लागि उहाँले सबै जिल्लावासीमा अनुरोध समेत गर्नुभएको छ ।