
रुकुम पश्चिममा रहेको रेडियो समावेशी आवाज दोस्रो वर्ष पार गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । २०८० जेठ ४ गते आधिकारिक रूपमा ५ सय वाटको इजाजत प्राप्त गरी उत्तरगंगा एफएमबाट नाम परिवर्तन भएर रेडियो समावेशी आवाजको रूपमा प्रसारण सुरु गरेको दिनको सम्झनामा रेडियोले वार्षिकोत्सव मनाउँदै आएको छ ।
कर्णाली र लुम्बिनी प्रदेशका आधा दर्जन जिल्ला र विशेष गरी रुकुम पश्चिम तथा सल्यानका जनतालाई सूचना मनोरञ्जन र सामाजिक चेतना दिँदै आएको रेडियो समावेशी आवाजले ३ वर्षमा प्रवेश गरेको अवसरमा सबैमा धन्यवाद ज्ञापन गरेको छ । आम श्रोता, विज्ञापनदाता, स्थानीय सरकार, सङ्घ संस्था, साझेदार सञ्चार माध्यमहरू, रेडियोमा कार्यरत पत्रकार तथा कर्मचारी एवं सम्पूर्ण शुभचिन्तकहरूलाई रेडियोले धन्यवाद दिएको हो ।
विनाशकारी भूकम्पले थिलथिलो भएर पनि विचलित नभएर अघि बढेको तथा भविष्यमा आउन सक्ने विषम परिस्थितिसँग सङ्घर्ष गर्दै निरन्तर सत्य तथ्य सूचना प्रवाहमा खटिरहने प्रतिबद्धता समेत रेडियोले व्यक्त गरेको छ । एफ एम ब्यान्डमा १०२ मेगाहर्जका साथै samabeshiaawaj.com र samabeshimedia.com तथा हाम्रो पात्रोमा पनि रेडियो सुन्न सकिने रेडियो सञ्चालक समितिका अध्यक्ष राजेन्द्र पुनले जानकारी दिनुभयो ।