
नेकपा एमाले रुकुम पश्चिमले सदस्यता नवीकरणलाई तीव्रता दिने भएको छ । मुसिकोटमा बसेको पार्टीको पाँचौँ पूर्ण बैठकले जेठ १५ गतेसम्म पार्टी सदस्यता नवीकरण सक्ने निर्णय गरेको पार्टीका प्रचार विभाग प्रमुख जीवन खड्काले जानकारी दिनुभयो । त्यस्तै बैठकमा जिल्लाका ६ वटै पालिकाका अध्यक्ष, पालिकाका अन्य नेता तथा जिल्ला कमिटीका नेताहरूले पार्टी गतिविधिका विषयमा रिपोर्टिङ गरेका थिए भने बैठकमा सामाजिक सञ्जालमा उपस्थिति र प्रस्तुतिका विषयमा पनि गम्भीर छलफल भएको प्रचार विभाग प्रमुख खड्काले जानकारी दिनुभयो ।
नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सल्लाहकार कमिटीका सदस्य गोविन्द केसी लगायतको आतिथ्यता रहेको थियो भने सञ्चालन जिल्ला सचिव शशीराम नेपालीले गर्नुभएको थियो । मदन–आश्रित स्मृति भवन पार्टी कार्यालय बागबजारमा बसेको बैठकमा पार्टीका प्रदेश कमिटी सदस्यहरू हरिप्रसाद शर्मा र टङ्क ओलीले मन्तव्य राख्नु भएको थियो । समापन मन्तव्य राख्दै अध्यक्ष नन्दराम देवकोटाले पार्टीमा चौतर्फी आक्रमण भइरहेको बेला सबै नेता कार्यकर्ता एक भएर अघि बढ्नु पर्ने बताउनु भएको थियो ।