
नेकपा माओवादी केन्द्रको जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान आज रुकुम पश्चिम पुग्ने भएको छ । अभियान अन्तर्गत हिजो जाजरकोटमा विभिन्न कार्यक्रम भएकामा आज रुकुम पश्चिममा अभियान अन्तर्गत विभिन्न कार्यक्रम हुने नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ । अभियान अन्तर्गत चौरजहारी नगरपालिकाको शंखपिपलमा विशाल जनसभा हुँदै छ भने मुसिकोटमा जनसंवाद कार्यक्रम हुने पार्टीको भनाई छ ।
अभियान टोलीका नेतृत्वकर्ता तथा पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको टोली आज बिहान ९ बजे जाजरकोटबाट सानीभेरी गाउँपालिका १ को चाइनाबगर पुग्ने छ । त्यहाँ स्वागत पछि १० बजे चौरजहारी पार्टी कार्यालयमा सहिद परिवारसँग भेटघाट, १०ः३० बजे चौरजहारी पार्टी कार्यालयमै जनयुद्धका घाइते, अपाङ्ग तथा पूर्व जनमुक्ति सेनाको टिमसँग भेटघाटको कार्यक्रम तय भएको नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
११ बजे खानाको समय रहेको छ भने मध्यान्ह १२ बजे सबैतिरबाट आएका र्यालीको जुलुस सुरु गर्ने, १ बजे सभा स्थल शंखपिपलमा प्रवेश गर्ने, १ः३० बजे शंखपिपल मैदानमा जनसभा सुरु भएर अपरान्ह् ४ः३० बजे जनसभा सकिने रोकाले बताउनुभयो । प्रचण्ड सहितको टोली ४ः४५ बजे चौरजहारी नगर कार्यपालिका कार्यालयको अवलोकन गरेर बेलुका ५ बजे मुसिकोटका लागि प्रस्थान गर्ने छ ।
बेलुकी ६ः३० बजे मुसिकोट नगरपालिका ५ शेरिगाउँस्थित सहिद प्रतिष्ठानको सभा हलमा जनसंवाद कार्यक्रम हुने छ भने भोली बिहान ७ बजे मुसिकोट नगरपालिका वडा नम्बर ७ को साँखमा बिदाइ कार्यक्रम हुने छ भने त्यसपछि अभियान टोली ७ः३० बजे रुकुम पूर्वको रुकुमकोट तर्फ प्रस्थान गर्ने तालिका रहेको जिल्ला संयोजक रोकाले बताउनुभयो । चौरजहारीमा हुने जनसभा तथा जनसंवाद लगायतका कार्यक्रमको तयारी पूरा भएको उहाँले बताउनुभयो ।
चौरजहारीमा हुने जनसभामा १० हजार बढी जनता उतार्ने तयारी भइरहेको उहाँको भनाई छ । जनसभामा रुकुम पश्चिम सहित सल्यान, जाजरकोटबाट पनि सहभागी हुने बताइएको छ ।