
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले आधार इलाकालाई कमजोर हुन नदिने बताउनुभएको छ । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत बुधवार रुकुम पश्चिमको चौरजहारीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो ।
जनयुद्ध कालदेखि हालसम्म पनि विभिन्न शक्तिहरू लागेर आधार इलाकाहरूलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको भन्दै उहाँले त्यसलाई सफल हुन नदिने बताउनुभयो । माओवादी आधार इलाकालाई थप बलियो बनाएर समाजवादी यात्रालाई अघि बढाउने उहाँले संकल्प गर्नुभयो ।
क्रान्तिकारी किल्लालाई जोगाएर क्रान्तिकारी जनतालाई समाजवादको यात्रामा लामबद्ध बनाउने पनि उहाँले बताउनुभयो । साथै उहाँले सुशासन कायम, रोजगारी सिर्जना, गरिबिको अन्त्य, सामाजिक न्याय, युवा पलायनलाई रोक्नु अहिलेको मुख्य जिम्मेवारी रहेको समेत बताउनुभयो ।
यसका लागि रुकुम पश्चिममा विभिन्न उद्योगहरू स्थापना गरिएको जानकारी गराउँदै उहाँले विभिन्न कारणले पूर्ण रुपमा सञ्चालन गर्न नसकिएको तर ती उद्योगलाई एक दिन अवश्य सफल बनाउने आश्वासन समेत दिनुभयो । जिल्लामा स्यार्पू हाइड्रो पावर र स्यार्पू कृषि कम्पनी सञ्चालनमा आएमा मात्र पनि जिल्लावासीको आर्थिक स्थितिमा व्यापक सुधार आउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै उहाँले अब पार्टी जनताका समस्यामा गाँसिएर अघि बढ्नुपर्ने बताउनुभयो । जनताका समस्या एकातिर र पार्टीको लाइन एकातिर भएर सम्भव नहुने भन्दै जनताकै बिचबाट जनताकै समस्यामा केन्द्रीय भएर पार्टी अघि बढ्नुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । ‘जनवादका आधारमा, वैचारिक बहसका आधारमा पार्टी अघि बढ्नुपर्छ, उहाँले भन्नुभयो–जनताका समस्या समाधान गर्न जनताको साथी भएर अघि बढ्नुपर्छ ।’
रुकुमबाट पार्टीलाई सशक्त बनाएर समाजवादको बाटो कोर्ने अभियानमा रहेको समेत प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री समेत रहनुभएका उपमहासचिव शर्माले बताउनुभएको थियो ।