
नेपाल समाजवादी पार्टी (नेसपा)का केन्द्रीय सदस्य जितमान पुन ‘मार्सल’ र नेकपा एमालेका निवर्तमान लुम्बिनी प्रदेश सदस्य उपेन्द्रलाल कामी सहित नेसपा र एमालेका दर्जन बढी नेता तथा कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
बिहीबार जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत रुकुमकोट, रुकुम पूर्वमा आयोजित जनसंवाद कार्यक्रममा उनीहरूले औपचारिक रूपमा माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
उनीहरूलाई नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फूल माला लगाई स्वागत गर्नुभयो ।
यस क्रममा नेसपाकाे सिङ्गो रुकुम पूर्व जिल्ला समिति नै माओवादी केन्द्रमा समाहित भएकाे छ । प्रवेश गर्नेहरूमध्ये नेसपा रुकुम पूर्वका जिल्ला संयोजक राखिमान घर्तीमगर, उपाध्यक्ष सतमान पुन, बलबहादुर छिनाल, सचिव धर्मटेक घर्तीमगर, कोषाध्यक्ष पुथीबहादुर घर्तीमगर, जिल्ला सदस्यहरू फर्कबहादुर घर्ती, कबराज कामी, कालीबहादुर रोका, कर्मधन गुरुङ र अबिन घले रहनुभएको छ ।
त्यस्तै, पुथाउत्तरगंगा गाउँ समितिका संयोजक धर्मटेक घर्ती, उपाध्यक्ष भागिमान घर्ती, सचिव आशिष घर्ती, सदस्यहरू विरभान घर्ती, अशोक घर्ती, रवित बुढा र सलिना घर्ती लगायतका नेता कार्यकर्ताहरु समेत माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अध्यक्ष प्रचण्डले परिवर्तनका मुद्दा र राष्ट्रिय स्वाभिमानलाई माओवादी केन्द्रले सधैँ प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै नवप्रवेशीहरूलाई स्वागत गर्नुभयो ।