Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोटमा युवा मार्गदर्शन तथा वृत्ति परामर्श 

रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा युवा विद्यार्थीहरूलाई युवा सम्बन्धी विभिन्न विषयमा जानकारी गराइएको छ । नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय राष्ट्रिय युवा परिषद् सानोठिमी भक्तपुरको आयोजनामा त्रिभुवन जनता मावि खलङ्गाका विद्यार्थीहरुलाई युवा मार्ग दर्शन तथा वृत्ति परामर्श कार्यक्रम मार्फत सीप विकास देखि विभिन्न विषयमा जानकारी गराइएको हो । 

विशेष गरी विद्यार्थीहरूलाई राष्ट्रिय युवा परिषद्ले गर्ने मुख्य ५ आधार स्तम्भका बारेमा जानकारी गराइएको राष्ट्रिय युवा परिषद्का उपसचिव कर्ण कुवँरले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा तथा व्यावसायिक शिक्षा, रोजगारी, उद्यमशीलता र सीपमूलक तालिम तथा स्वास्थ्य, सामाजिक सुरक्षाका बारेमा स्पष्ट पारिएको थियो । 

yuba-parisad-1747904004.jpg
त्यस्तै युवा सहभागिता, परिचालन र नेतृत्व विकास तथा खेलकुद र मनोरञ्जनका विषयमा पनि विद्यार्थीहरूलाई जानकारी गराइएको थियो । युवा परिषद्ले युवाहरूलाई लक्षित गरेर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने गरेको र सोही अन्तर्गत मुसिकोटमा यो कार्यक्रम सम्पन्न भएको उपसचिव कँवरले जानकारी गराउनुभयो । परिषद्ले मुख्य गरी युवाहरूको सीप तथा क्षमता विकासका लागि काम गरिरहेको उहाँले बताउनुभयो । 

कार्यक्रममा १ सय जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । त्रिभुवन जनता माविका प्रधानाध्यापक गोपीराम केसीको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय युवा परिषद्का उपसचिव कर्ण कुवँरको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा त्रिजमाविका सहायक प्रधानाध्यापक संगम केसी, पूर्व प्रधानाध्यापक हरिप्रसाद खनाल लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रमको सहजीकरण उपसचिव कर्ण कुवँर सहित मुसिकोट खलङ्गा बहुमुखी क्याम्पसका उपप्राध्यापकहरू हर्कबहादुर ओली र टेकबहादुर ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति: बिहीबार, जेठ ९, २०८२  १४:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update