
रुकुम पश्चिममा १४ जना नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवादी मध्यपहाडी लोकमार्ग जनजागरण अभियान अन्तर्गत मङ्गलवार चौरजहारीमा भएको विशाल जनसभा मार्फत १२ जना र बुधवार मुसिकोट ७ साँखमा २ जना माओवादीमा प्रवेश गरेका हुन् ।
उनीहरू सबै जनालाई माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको हो । चौरजहारीको जनसभामा मार्फत चौरजहारी नगरपालिका ११ का नेपाली काँग्रेसबाट लालबहादुर ओली, काँग्रेसबाटै हरिलाल ओली, कैलु ओली र चन्द्रबहादुर ओली तथा नेकपा एमालेका विरभान नेपाली र दिलबहादुर नेपाली रहेको माओवादी केन्द्र रुकुम पश्चिमले जनाएको छ ।
त्यस्तै चौरजहारी नगरपालिका ७ का डिल्लीबहादुर थापा, सन्तोष केसी, दिलमाया केसी, इन्द्रलाल जैसी, कृष्ण जैसी र निशान मल्ल पार्टी प्रवेश गरेको माओवादीको भनाई छ । त्यस्तै उक्त जनसभा मार्फत सल्यानमा विभिन्न पार्टीमा क्रियाशील व्यक्तिहरू पनि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
यता मुसिकोट ७ मा पार्टी प्रवेश गर्नेमा नेपाली काँग्रेसकी नगर सदस्य काली गिरी र नेपाली काँग्रेसकी वडा सदस्य मनकुमारी सुनार रहेको नेकपा माओवादी केन्द्र मुसिकोट ७ ले जनाएको छ । उहाँहरूलाई पनि अध्यक्ष प्रचण्डले स्वागत गर्नुभएको हो ।