
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा तेस्रो वडाध्यक्ष कप खुला डबल पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर २ ले आयोजना गरेको प्रतियोगिताको आज एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले उद्घाटन गर्नुभयो ।
खलङ्गाको बराहटाकुरा कवर्ड हलमा भोलीसम्म चल्ने प्रतियोगितामा रुकुम पश्चिम सहित छिमेकी जिल्लाबाट गरी ३१ जोडीले भाग लिएको आयोजक मुसिकोट नगरपालिका वडा नम्बर २ को कार्यालयले जनाएको छ । वडाध्यक्ष दिनेश खड्काको अध्यक्षतामा भएको प्रतियोगिता उद्घाटन समारोहमा मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको प्रमुख तथा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसीको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै कार्यक्रममा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रमेश विष्ट, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, मुसिकोट ८ का वडाध्यक्ष जयबहादुर थापा, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख ताराप्रकाश पुन, मुसिकोट २ का वडा सदस्यहरू रेसम खड्का, गोपाल खड्का, भवानी शर्मा, लोकतान्त्रिक खेलकुद सङ्घका अध्यक्ष तेज बुढा लगायतको आतिथ्यता रहेको थियो । वडा खेलकुद विकास समितिका अध्यक्ष हरिबहादुर खड्काको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन वडा सचिव कमल पुन मगरले गर्नुभएको थियो ।
प्रतियोगिताको विजेता जोडीले १७ हजार नगद, कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा सचिव कमल पुनले जानकारी दिनुभयो । उहाँका अनुसार उपविजेता जोडीले नगद ८ हजार, कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा सान्त्वना दुई जोडीले समान २ हजार ५ सय सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । वडाले गत वर्ष जस्तै यो वर्ष पनि प्रतियोगिता आयोजना गरेको हो ।