Kakhara सबैको खबर सम्पूर्ण खबर
पत्रकार बिच मैत्रीपूर्ण फुटबल सम्पन्न 

रुकुम पश्चिमका पत्रकारहरू बिचमा मैत्रीपूर्ण फुटबल सम्पन्न भएको छ । नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको संयुक्त आयोजनामा जिल्ला सदरमुकाम मुसिकोट खलंगामा मैत्रीपूर्ण फुटबल भएको हो । जसमा नेपाल प्रेस युनियन ५–२ गोलले विजयी भएको छ ।

नेपाल प्रेस युनियनको ३४ औँ स्थापना दिवस तथा २३ औँ कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा दुई संगठनले संयुक्त रूपमा मैत्रीपूर्ण फुटबल आयोजना गरेका हुन् । बराहटाकुरा खेल मैदानमा मुसिकोट नगर प्रमुख महेन्द्र केसीले फुटबलको उद्घाटन गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी, जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रवेश विष्ट, सशस्त्र प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक मदन धानुक, प्रमुख अनुसन्धान अधिकृत चिरञ्जीवी बुढा, सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी, मुसिकोट २ का वडाध्यक्ष दिनेश खड्का, नेपाली काँग्रेसका जिल्ला सह सचिव यज्ञ विष्ट, एकीकृत समाजवादी पार्टीका उपसचिव अमरराज पुन, लोकतान्त्रिक खेलकुद महासंघका अध्यक्ष तेज बुढा लगायतको उपस्थिति रहेको थियो ।

जिल्लामा क्रियाशील पत्रकारहरू बिचको सम्बन्धलाई थप मजबुत बनाउन सहयोग पुगोस् भन्ने उद्देश्यले खेल आयोजना गरिएको दुई संगठनले जनाएका छन् । यसअघि मंगलबार दुवै संगठनले संयुक्त रूपमा दीप प्रज्वलन गरेका थिए ।   

प्रकाशित मिति: बुधबार, जेठ १५, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update