
गणतन्त्र दिवस रुकुम पश्चिममा विभिन्न कार्यक्रममा गरी मनाइँदै छ । बुधवार, बिहीबार र शुक्रवार तीन दिन विभिन्न कार्यक्रम गरी मनाउने निर्णय अनुसार जिल्लामा विभिन्न कार्यक्रम भइरहेका छन् । पहिलो दिन मंगलबार दौड प्रतियोगिता र बिरामीलाई फलफूल वितरण कार्यक्रम सम्पन्न भएको छ ।
बिहान मुसिकोट नगरपालिका १ सल्ले विमानस्थल गेट नजिकैबाट सुरु भएको दौड शेरिगाउँ पुगेर सम्पन्न भएको थियो । ३.२ किलोमिटर अर्थात् ३२ सय मिटरको दौड विभिन्न समूह विभाजन गरेर सञ्चालन गरिएको थियो । विद्यार्थी छात्र छात्रा, निजामती कर्मचारी, शिक्षक, कार्यालय प्रमुख, जनप्रतिनिधि र सुरक्षा फौज महिला पुरुष तर्फ प्रतिस्पर्धा गराइएको थियो ।
जस अन्तर्गत कर्मचारी तर्फ सहायक प्रमुख जिल्ला अधिकारी विनोद रेग्मी प्रथम, जिल्ला समन्वय समितिमा कार्यरत गणेश खत्री द्वितीय र शिक्षा विकास तथा समन्वय इकाई रुकुम पश्चिमका प्रमुख ताराप्रकाश पुन मगर तृतीय हुनुभएको छ ।
सुरक्षा फौज पुरुष तर्फ चण्डी दल गण सल्लेका रवीन्द्र विक प्रथम, चण्डी दल गणका दिनेश विक द्वितीय, चण्डी दल गणकै धर्मराज विष्ट तृतीय र यही गणका कमल ओली सान्त्वना तथा सुरक्षाकर्मी महिला तर्फ नेपाली सेनाको चण्डी दल गण सल्लेकी कालिका रावत प्रथम, सोही गणकी शुष्मा भुजेल द्वितीय र यही गणकै पुष्पा सिं ठकुरी तृतीय भएको गणतन्त्र दिवस मुल समारोह समितिले जनाएको छ ।
विद्यार्थी तर्फको दौडमा छात्र तर्फ त्रिभुवन जनता मावि खलंगाका दिनेशजंग खड्का प्रथम, सरस्वती मावि सल्लेका केवी किरण रावल द्वितीय, यमुना नन्द नमुना मावि शेरिगाउँका अर्जुन ओली तृतीय र यही विद्यालयकै सुनिल थापा सान्त्वना हुनुभएको छ । छात्रा तर्फ भने पशुपति मावि रातामाटाकी उमा खड्का प्रथम, त्रिभुवन जनता माविकी अंशु बुढा द्वितीय, यमुना नन्द नमुना मावि शेरिगाउँकी प्रमिशा केसी तृतीय र यही विद्यालयकै वर्षा केसी सान्त्वना हुनुभयो ।
शिक्षक तर्फ यमुना नन्द नमुना मावि शेरिगाउँका गणेश केसी, कार्यालय प्रमुख तर्फ चण्डी दल गण सल्लेका गणपति प्रमुख सेनानी शरद थापा र जनप्रतिनिधि तर्फ चौरजहारी नगरपालिका १० का अध्यक्ष विरेन्द्र रोकाय प्रथम भएको बताइएको छ । दौड प्रतियोगिताको संयोजन शिक्षा विकास तथा समन्वय इकाई, सामाजिक विकास कार्यालय, स्वास्थ्य सेवा कार्यालय र सशस्त्र प्रहरी बल ४७ नम्बर गुल्म मठले गरेका थिए ।
यसैबिच दिवसको अवसरमा जिल्ला अस्पताल रुकुम पश्चिममा उपचाररत बिरामीहरूलाई फलफूल वितरण गरिएको छ । स्वास्थ्य सेवा कार्यालयको संयोजनमा ३५ जना बिरामीलाई फलफूल वितरण गरिएको हो । दिवस अन्तर्गत बिहीबार मुख्य दिन मुसिकोटमा प्रभात फेरी तथा खलंगाको बालमन्दिरमा मञ्चको कार्यक्रम गरिने गणतन्त्र दिवस मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले जानकारी दिनुभयो ।
शुक्रवार डिभिजन वन कार्यालयको संयोजनमा खलंगाको पुष्पलाल चोक र जिल्ला प्रहरी कार्यालय परिसरमा वृक्षारोपण गरिने छ । साथै तीन सबै कार्यालयमा झन्डा सजाउनुका साथै दीप प्रज्वलन गर्ने र सबै स्थानीय तथा तथा वडामा भव्यतापूर्वक दिवस मनाउने निर्णय भएको समन्वय प्रमुख गौतमले जानकारी दिनुभयो ।