
१८ औँ गणतन्त्र दिवसको अवसरमा रुकुम पश्चिमको सदरमुकाममा मुसिकोटमा प्रभात फेरि निकालिएको छ । जिल्ला समन्वय समिति र मुसिकोट नगरपालिकाको आयोजनामा प्रभात फेरी निकालिएको हो ।
खलङ्गाको कालिका स्थानबाट निकालिएको प्रभात फेरी खलङ्गा बजार परिक्रमा गरेर बाल मन्दिरमा पुगेर,कार्यक्रममा परिणत भएको छ । प्रभात फेरीमा गणतन्त्रका पक्षमा विभिन्न नारा लगाइएको थियो । प्रभात फेरीमा जनप्रतिनिधि, कर्मचारी, विद्यार्थी, शिक्षक, पत्रकार, सुरक्षाकर्मी, जिल्लास्थित सरोकारवाला निकायको उपस्थिति रहेको थियो ।
मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीको अध्यक्षतामा गणतन्त्र दिवस विशेष कार्यक्रम चलिरहेको छ । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमको प्रमुख आतिथ्यता रहेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विक, मुसिकोट नगर उपप्रमुख विमलकुमार पुन, प्रमुख जिल्ला अधिकारी कुलबहादुर जिसी लगायतको आतिथ्यता रहेको छ ।
मुसिकोट नगर उपप्रमुख विमलकुमार पुनको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी पुण्यप्रसाद अधिकारीले गरिरहनुभएको छ । जिल्लामा तीन दिन विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै छ । जसअनुसार बुधवारबाट विभिन्न कार्यक्रम भइरहेका छन् ।
बुधवार दौड प्रतियोगिता भएको थियो । उक्त प्रतियोगिताका विजेतालाई अहिले जारी दिवस विशेष कार्यक्रममा पुरस्कार वितरण गरिने बताइएको छ । बुधवार नै जिल्ला अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण समेत गरिएको थियो ।
शुक्रवार डिभिजन वन कार्यालयको संयोजनमा खलङ्गाको पुष्पलाल चोक र जिल्ला प्रहरी कार्यालय परिसरमा वृक्षारोपण गरिने छ । साथै तीन सबै कार्यालयमा झन्डा सजाउनुका साथै दीप प्रज्वलन गर्ने र सबै स्थानीय तथा तथा वडामा भव्यतापूर्वक दिवस मनाउने निर्णय भएको समन्वय प्रमुख लुम्बिनी गौतमले जानकारी दिनुभयो ।