
गणतन्त्र दिवसको ऐतिहासिक अवसर सँगै "रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्ज" ले आफ्नो नियमित प्रसारणको ६ वर्ष पूरा गरी सातौँ वर्षमा प्रवेश गरेको छ । पूर्वी रुकुम बहुदलीय समाज विकास केन्द्रद्वारा सामुदायिक रेडियो पूर्वी रुकुम २०७६ साल जेठ १५ गते अर्थात् आजकै दिन दिनदेखि आफ्नो आधिकारिक प्रसारणमा आएको थियो ।
स्थानीय तहमा रहे पनि राष्ट्रिय दृष्टिकोण, समावेशी आवाज र जनमुखी धारणा लिएर सञ्चालित रेडियो पूर्वी रुकुमले स्थापना कालदेखि नै विविधता, समानता र अभिव्यक्तिको स्वतन्त्रतालाई आत्मसात् गर्दै आएको छ । ग्रामीण जनताको आवाज उजागर गर्न निरन्तर क्रियाशील भूमिका खेल्दै आएको रेडियोले सूचना, शिक्षा, स्वास्थ्य, समावेशी शासन, मानवअधिकार, महिला तथा दलित सशक्तीकरणजस्ता विषयवस्तुमा केन्द्रित कार्यक्रमहरू प्रसारण गर्दै आएको छ ।
रेडियो विभिन्न अनलाइन प्लेटफर्म र सामाजिक सञ्जालमार्फत पनि सुन्न सकिन्छ । रेडियोले पछिल्लो समय भिडियो सामग्रीलाई उच्च प्राथमिकतामा राखेर नयाँ पुस्तासम्मको पहुँचमा थप सहजता ल्याएको जनाएको छ भने प्रविधिको नवीनतम प्रयोग गर्दै डिजिटल रूपान्तरणतर्फ समेत रेडियोले महत्त्वपूर्ण पाइला चालेको रेडियो सञ्चालक समितिले जनाएको छ ।
समितिका अध्यक्ष लालबहादुर विष्ट (प्रभात) ले जारी गरेको प्रेस-विज्ञप्तिमा सम्पूर्ण सहयोगी दाता, स्थानीय सरकार, शुभेच्छुक, श्रोता, पत्रकार, नागरिक समाज तथा साझेदार सङ्घ संस्था प्रति आभार प्रकट गरिएको छ । आगामी दिनहरूमा झन् प्रभावकारी, जिम्मेवार र समावेशी कार्यक्रमहरू प्रस्तुत गर्ने प्रतिबद्धता समेत विज्ञप्ति मार्फत व्यक्त गरिएको छ ।