Kakhara सबैको खबर सम्पूर्ण खबर
बारिपोले साइकुमारी मन्दिरमा शिव र गणेशको मूर्ति अनावरण 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर २ मा रहेको धार्मिक स्थल बारिपोले सिद्ध साइकुमारी मन्दिरमा शिव र गणेशको मूर्ति अनावरण गरिएको छ । शनिवार एक कार्यक्रमका बिच मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसीले मूर्तिको अनावरण गरिएको हो । नगरपालिकाबाट चालु आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित ६ लाख बजेटबाट शिवको मूर्ति निर्माण गरिएको हो ।

१० फिट उचाइको मूर्ति निर्माण गरिएको छ । यो मूर्ति टोपेन्द्र कला केन्द्र सल्यानले तयार पारेको मुसिकोट नगरपालिका वडा नम्बर २ ले जनाएको छ । त्यस्तै गणेशको मूर्ति भने ग्रामीण विकास बहुउद्देश्यीय सहकारीको नाच टोलीले सङ्कलन गरेको ३० हजार रकमबाट तयार पारिएको बताइएको छ । मूर्ति अनावरण सहित पूजापाठ समेत भएको थियो ।

IMG-20250531-WA0051-1748710125.jpg
बारिपोलेलाई धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न विभिन्न काम भइरहेको र सोही अनुसार मूर्ति राखिएको मुसिकोट २ का वडाध्यक्ष दिनेश खड्काले जानकारी दिनुभयो । मन्दिर मर्मत, फिल्ड निर्माण लगायतका काम भएको र अहिले मूर्ति राखिएको भन्दै उहाँले आगामी दिनमा पनि थप भौतिक संरचना निर्माण लगायतका काम हुने उहाँले बताउनुभयो ।

साइकुमारीका दुई दिदी मध्ये जेठी दिदी बारिपोलेमा बसेको र कान्छी बहिनी मुसिकोट नगरपालिका ५ डिग्रेमा बसेको जनविश्वास छ । बारिपालेमा हरेक वर्षको मंसिर शुक्ल एकादशी र द्वादशीमा मेला तथा विशेष पूजापाठ हुने गरेको छ । यहाँ पूजापाठ तथा बलि चढाउनाले मनले चिताएको पुग्ने जनविश्वास छ ।

मूर्ति अनावरण गर्दै मुसिकोट नगर प्रमुख महेन्द्र केसीले नगरपालिकाको लगानीमा बारिपोले एक धार्मिक पर्यटकीय स्थलका रूपमा विकास हुँदै गएको बताउनुभयो । नगरपालिकाले विशेष महत्वका साथ यहाँका लागि बजेट विनियोजन गरिरहेको र आगामी वर्षहरूका लागि समेत प्रदेश तथा संघ सरकारमा बजेट माग गरी पठाएको उहाँको भनाई छ ।

IMG-20250531-WA0053-1748710123.jpg
साथै उहाँले मुसिकोट नगर सरकार धार्मिक पर्यटन विकास तर्फ केन्द्रित भएको बताउनुभयो । यसैअन्तर्गत पछिल्ला वर्षहरूमा नगरका विभिन्न ठाउँमा मन्दिर निर्माण तथा मर्मतका कार्यले तीव्रता पाएको उहाँको भनाई थियो । वडाध्यक्ष खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख केसीको प्रमुख र नेपाली सेनाको चण्डी दल गण सल्लेका गणपति प्रमुख सेनानी शरद थापाको विशेष आतिथ्यता रहेको थियो ।

त्यस्तै कार्यक्रममा पूर्व वडाध्यक्ष काशीराम खड्का, मुसिकोट नगरपालिका १ का वडाध्यक्ष ज्ञानुचन्द्र चन्द, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सदस्य नरबहादुर खड्का, मुसिकोट अध्यक्ष दलबहादुर खड्का, नेपाल रेडक्रस सोसाइटी रुकुम पश्चिमका अध्यक्ष यज्ञबहादुर केसी, वडा सदस्यहरू, राजनीतिक दल तथा स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन वडा सचिव कमल पुनले गर्नुभएको थियो ।   

प्रकाशित मिति: शनिबार, जेठ १८, २०८२  २२:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update