Kakhara सबैको खबर सम्पूर्ण खबर
आफू संक्रमणमुक्त भए लगत्तै संक्रमित भेट्दै वडाध्यक्ष
संक्रमितसितको भेटघाटपछि अण्डा दिँदै वडाध्यक्ष केसी ।

रुकुम पूर्व सिस्ने गाउँपालिका २, का अध्यक्ष जीवन केसीलाई कोरोना संक्रमण भयो । यसका कारण केही समय अस्पतालको बसाई र त्यसपछि केही दिनको आरामपछि उहाँ संक्रमित भेटन घरदैलो पुग्न थाल्नु भएको छ । वडा र जनताकै कामकाजको क्रममा संक्रमण पुष्टि भएपछि उहाँले झण्डै २५ दिन उपचारमै विताउनुभयो । आफू डिस्चार्ज भएको केही दिनमै वडाका केही जनामा संक्रमण पुष्टि भयो ।

जिल्ला अस्पतालमा दुई हप्ता उपचार गरेपछि डिस्चार्ज हुनु भएका उहाँ विहीबारबाट संक्रमित र वडाका अरु विरामी भेटघाटमा लाग्नु भएको हो । संक्रमितको स्वास्थ्य अवस्था कस्तो छ, संक्रमणका बेला के कुरामा ध्यान पुर्याउने जस्ता आफ्ना अनुभव बाँड्दै उहाँ संक्रमितको घर घर पुग्नु भएको छ । उहाँ एक्लै जानु भएको छैन । साथमा स्वास्थ्य चौकी नायगाडका इन्चार्ज एच.ए.काशिराम खड्कालाई पनि लिनु भएको छ ।

स्वास्थ्यमा समस्या भएपछि लक्षण अनुसारको औषधी वितरण गर्ने, ज्वरो नाप्ने, अक्सिजनको मात्रा नाप्ने र परामर्श दिन संक्रमित भेटघाटमा लागिएको वडाध्यक्ष केसीले बताउनुभयो । संक्रमितका साथसाथै अरु विरामीको अवस्थाबारे पनि जानकारी लिइरहेको उहाँले बताउनुभयो ।

समग्रमा पहिलो चरणमा भेटेका सबैको स्वास्थ्य अवस्था सुधारोन्मुख पाइएको वडाध्यक्ष केसीले बताउनुभयो । संक्रमित र अरु विरामी भएका सबैको स्वास्थ्य सुधारतर्फ रहेको उहाँले जानकारी दिनुभयो । संक्रमितलाई वडा वडाध्यक्ष केसीले व्यक्तिगत रुपमा  एक/एक क्यारेट अण्डा पनि प्रदान गर्नुभएको छ । पोषणमा सघाउ पुगोस् भनेर अण्डा प्रदान गरिएको वडाध्यक्ष केसीले बताउनुभयो ।

यस बेला स्वास्थ्यमा बढी ध्यान दिनुपर्ने सुझाव दिइएको छ । स्वास्थ्य चौकी इन्चार्ज खड्काले संक्रमितमा खासै समस्या नदेखिएको यस अघि देखिएका लक्षणको आधारमा सामान्य औषधी दिइएको बताउनुभयो । उक्त वडामा केही दिन अघि ४४ जनामा गरिएको परीक्षणका क्रममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । एक जनामा जिल्ला अस्पतालमै कोरोना संक्रमण पुष्टि भएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update