
रुकुम पश्चिमको मुसिकोट नगरपालिकामा जारी तेस्रो रुकुम कप भलिबल अन्तर्गत महिला तर्फ समूह चरणका खेल सकिएका छन् । बिहीबार बाँफिकोट गाउँपालिका र रुकुम भलिबल टिम बिच लिग चरणको अन्तिम खेल भएको थियो । उक्त खेलमा बाँफिकोट गाउँपालिका ३–० को सोझो सेटमा विजयी हुँदै टेबल टप गर्न सफल भएको छ ।
बाँफिकोटले टेबल टप गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ । त्यस्तै टेबलमा दोस्रो स्थानमा रहेको जनज्योति युवा विकास केन्द्र रुकुम पूर्व पनि फाइनल पुगेको छ । उपाधिका लागि बाँफिकोट र जनज्योति युवा विकास केन्द्रका बिचमा प्रतिस्पर्धा हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।
त्यस्तै रुकुम भलिबल टिम र सिमा भलिबल क्लब रुकुम पूर्वले तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् । महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ५० हजार सान्त्वना टिमले २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।
पुरुष तर्फ भने लिग चरणका खेलहरू जारी छन् । पुरुष तर्फ ७ टिमले प्रतिस्पर्धा गरिरहेको छन् । पुरुष तर्फ चर्चित खेलाडीहरू धनबहादुर भट्ट, पहल गहतराज, सफल विश्वकर्मा, हिमाल सुनारी, रुपेन्द्र गैरे, भीम गाहा, विष्णु बस्नेत लगायतका खेलाडी विभिन्न टिमबाट खेलिरहेका छन् । फाइनल खेल २५ गते हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी गराउनुभयो ।