Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम कप भलिबल: आज लिग चरणका महत्त्वपूर्ण खेलहरू हुने 

रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा जारी तेस्रो रुकुम कप भलिबलको छैटौँ दिन आज पाँच खेल हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । आजको पहिलो खेल बिहान ८ बजेपछि महिला तर्फको तेस्रो स्थानको प्रतिस्पर्धा हुने छ । 

आयोजकका अनुसार रुकुम भलिबल टिम र सीमा भलिबल क्लब बिच महिला तर्फको तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने छ । त्यसपछि पुरुष तर्फ हाम्रो सरोको मुसिकोट ७ र वनगाड कुपिण्डे सल्यान बिच प्रतिस्पर्धा हुने छ । यो खेल प्रतिस्पर्धात्मक हुने देखिएको छ । 

नेपाल आर्मीका धनबहादुर भट्ट सहित विष्णु बस्नेत, मनोज घिमिरे लगायतका खेलाडी रहेको हाम्रो सरोकारलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ । उता वनगाडमा पनि कमल गहतराज, विकाश गिरी लगायतका चर्चित खेलाडीहरू छन् । यो खेल बिहान १० बजे हुने छ । 

त्यस्तै अर्को खेलमा मध्यान्ह १२ बजे जिपसिङ भलिबल क्लब बाँफिकोट र अमित फेन्सी स्टोर बौदीकाली बिचमा प्रतिस्पर्धा हुँदा अर्को खेल दिउँसो २ बजे टिम खनाल र हाम्रो सरोकारका बिचमा हुने छ । आजको अन्तिम खेल अपराह्न ४ बजे सिस्ने गाउँपालिका र बनगाड कुपिण्डे नगरपालिका सल्यानका बिचमा हुने छ । 

पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले २ लाख ९१ हजार पाउँदा तेस्रोले १ लाख ५१ हजार र सान्त्वना हुने टिमले १ लाख ११ हजार पुरस्कार पाउने अध्यक्ष  बुढाले बताउनुभयो । कप, मेडल र प्रमाणपत्र समेत व्यवस्था रहेका छ ।

त्यस्तै त्यस्तै महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ५० हजार सान्त्वना टिमले २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २४, २०८२  ०७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update