
रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ खलङ्गामा जारी तेस्रो रुकुम कप भलिबल अन्तर्गत महिला तर्फ रुकुम भलिबल टिम तृतीय भएको छ । आज बिहान तेस्रो स्थानका लागि भएको खेलमा सीमा भलिबल क्लब रुकुम पूर्वलाई ३–० को सोझो सेटमा पराजित गर्दै रुकुम भलिबल टिम तृतीय भएको छ ।
उसले नगद ५० हजार पुरस्कार पाउने भएको छ भने सान्त्वना बनेको सीमा भलिबल क्लबले २५ हजार नगद पुरस्कार पाउने छ । फाइनल खेल भने जेठ २५ गते हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ । आयोजकका अनुसार महिला तर्फको उपाधिका लागि बाँफिकोट गाउँपालिका रुकुम पश्चिम र जनज्योति युवा विकास केन्द्र खेल्ने छन् ।
महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ ।
यसैबिच पुरुष तर्फ भने लिग चरणका खेलहरू चलिहरेका छन् । पुरुष तर्फको फाइनल खेल पनि जेठ २५ गते सञ्चालन हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो ।