तेस्रो रुकुम कप भलिबलमा शुक्रवार पुरुष तर्फका तीन वटा खेल भएका छन् । लिग चरणका खेलमा हाम्रो सरोकार, अमित फेन्सी स्टोर बौदीकाली र बनगाड सल्यान विजयी भएका छन् । पहिलो खेलमा हाम्रो सरोकारले वनगाडलाई ३–१ को सेटमा पराजित गरेको थियो । अर्को खेलमा बौदीकालीले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ को जिपसिङलाई ३–० को सोझो सेटमा पराजित गर्यो ।
त्यस्तै अर्को खेलमा वनगाड कुपिण्डे सल्यानले रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई ३–१ कै सोझो सेटमा पराजित गरेको हो । आजै भएको टिम खनाल र हाम्रो सरोकार बिचको खेल भने समय अभावका कारण सम्पन्न हुन सकेन । १÷१ को सेट भएको अवस्थामा साँझ परेपछि खेल रोकिएको थियो । यो खेल शनिवार बिहान ८ बजे हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।
हाम्रो सराकार, टिम खनाल र बौदीकालीलाई मुख्य उपाधि दाबेदारका रूपमा हेरिएको छ । हाम्रो सरोकारमा नेपाल आर्मीका धनबहादुर भट्ट, कोसी प्रदेशका कप्तान विष्णु बस्नेत र मनोज घिमिरे लगायतका खेलाडी रहेका छन् भने टिम खनालमा नेपाल पुलिसका सफल विश्वकर्मा, पहल गहतराज सहित, भीम गाहा, रुपेन्द्र गैरे, एपिएफका सुरेन्द्र केसी लगायतका खेलाडीहरू रहेका छन् । बौदीकालीमा भने हिमाल सुनारी, सरोज वर्देवा, विकास आले लगायतका खेलाडी रहेका छन् ।
प्रतियोगितामा शनिवार मुख्य ४ वटा खेल हुने छन् । आज रोकिएको हाम्रो सरोकार र टिम खनाल बिचको खेल शनिवार बिहान ८ बजे हुने छ । त्यसपछि बिहान १० बजे वनगाड र अमित फेन्सी स्टोर बौदकाली बिचमा हुने छ भने त्यसपछिको खेल दिउँसो २ बजे बौदीकाली र टिम खनालका बिचमा हुने छ भने अन्तिम खेल बेलुका ५ बजे हाम्रो सरोकार र बौदीकालीका बिचमा हुने छ । महिला तर्फ भने फाइनल खेल मात्र बाँकी रहेको छ ।
उपाधिका लागि बाँफिकोट गाउँपालिका रुकुम पश्चिम र जनज्योति युवा विकास केन्द्र रुकुम पूर्व बिच प्रतिस्पर्धा हुने छ । महिला पुरुष दुवै तर्फका फाइनल खेल जेठ २५ गते आइतबार हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो ।