
तेस्रो रुकुम कप भलिबलमा आज पुरुष तर्फ लिग चरणका अन्तिम महत्त्वपूर्ण ४ खेलहरू हुँदै छन् । पहिलो खेलमा बिहान ८ बजे हाम्रो सरोकार मुसिकोट ७ र टिम खनाल सानीभेरी बिचमा प्रतिस्पर्धा हुने छ । यो खेल हिजो १–१ सेट भएको अवस्थामा साँझ परेपछि रोकिएको थियो । उक्त खेल आज फेरि सुरुबाट सञ्चालन हुने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।
अर्को खेलमा बिहान १० बजे वनगाड कुपिण्डे सल्यान र अमित फेन्सी स्टोर बौदीकालीले प्रतिस्पर्धा गर्ने छन् । दिउँसो २ बजे बौदीकाली र टिम खनाल तथा बेलुका ५ बजे हाम्रो सरोकार र बौदीकाली बिचमा खेल हुने आयोजकको भनाई छ । आज समूह चरणका खेल सकेर भोली महिला तथा पुरुष तर्फका फाइनल खेल खेलाउने तयारीमा आयोजक रहेको छ ।
शुक्रवार भएका लिग चरणका खेलमा हाम्रो सरोकार, अमित फेन्सी स्टोर बौदीकाली र बनगाड सल्यान विजयी भएका थिए । पहिलो खेलमा हाम्रो सरोकारले वनगाडलाई ३–१ को सेटमा पराजित गरेको थियो । अर्को खेलमा बौदीकालीले रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ को जिपसिङलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो ।
त्यस्तै अर्को खेलमा वनगाड कुपिण्डे सल्यानले रुकुम पूर्वको सिस्ने गाउँपालिकालाई ३–१ कै सोझो सेटमा पराजित गरेको थियो । हाम्रो सराकार, टिम खनाल र बौदीकालीलाई मुख्य उपाधी दाबेदारका रुपमा हेरिएको छ ।
हाम्रो सरोकारमा नेपाल आर्मीका धनबहादुर भट्ट, कोसी प्रदेशका कप्तान विष्णु बस्नेत र मनोज घिमिरे लगायतका खेलाडी रहेका छन् भने टिम खनालमा नेपाल पुलिसका सफल विश्वकर्मा, पहल गहतराज सहित, भीम गाहा, रुपेन्द्र गैरे, एपिएफका सुरेन्द्र केसी लगायतका खेलाडीहरू रहेका छन् । बौदीकालीमा भने हिमाल सुनारी, सरोज वर्देवा, विकास आले लगायतका खेलाडी रहेका छन् ।
महिला तर्फ भने फाइनल खेल मात्र बाँकी रहेको छ । उपाधिका लागि बाँफिकोट गाउँपालिका रुकुम पश्चिम र जनज्योति युवा विकास केन्द्र रुकुम पूर्व बिच प्रतिस्पर्धा हुने छ ।
पुरुष भलिबलको विजेताले ५ लाख ११ हजार नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले २ लाख ९१ हजार पाउँदा तेस्रोले १ लाख ५१ हजार र सान्त्वना हुने टिमले १ लाख ११ हजार पुरस्कार पाउने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले बताउनुभयो । कप, मेडल र प्रमाणपत्र समेत व्यवस्था रहेका छ ।
त्यस्तै महिला तर्फको विजेताले १ लाख नगद पुरस्कार प्राप्त गर्ने छ । उप विजेताले ७५ हजार पुरस्कार पाउँदा तेस्रो हुनेले ५० हजार सान्त्वना टिमले २५ हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । कप, मेडल र प्रमाणपत्रको समेत व्यवस्था गरिएको छ । पुरुष तर्फको सर्वोत्कृष्टले १० हजार र महिला तर्फको सर्वोत्कृष्ट खेलाडीले ५ हजार तथा महिला तथा पुरुष तर्फ अन्य व्यक्तिगत विधामा पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।