
नेकपा माओवादी केन्द्र रुकुम पश्चिम जिल्ला शाखाको प्रथम अधिवेशन मुसिकोटमा सम्पन्न भएको छ । मुसिकोट नगरपालिका ५ शेरिगाउँस्थित सहिद प्रतिष्ठानको सभा हलमा आयोजित अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको हो ।
अधिवेशनले अमर चन्दको अध्यक्षतामा ५५ सदस्यीय जिल्ला समिति सर्वसम्मत निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा प्रेमबहादुर बिक, तुलबहादुर आग्री र टिकेश्वरी भाट, सचिवमा देवबहादुर चन्द, सह सचिवमा कृष्णप्रसाद जैसी र कोषाध्यक्षमा कविता बोहरा रहनुभएको छ ।
निजामती कर्मचारी, शिक्षक, बुद्धिजीवी तथा पत्रकारबाट प्रतिनिधित्व हुने गरी शाखा गठन गरिएको नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति रुकुम पश्चिमका संयोजक गोविन्द रोका सचिनले जानकारी दिनुभयो ।
जिल्ला संयोजक रोकाका अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा कुशलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन प्रदेश महाशाखा समिति सदस्य शेरबिर दाहालले गर्नुभएको थियो भने प्रदेश महाशाखा सदस्य शेरबहादुर खड्काले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उद्घाटन समारोहपछि बन्द सत्र सञ्चालन भएको थियो । प्रदेश महाशाखा सदस्य प्रेमबहादुर खड्काको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलमा प्रदेश महाशाखा सदस्यहरू चिताराम खड्का र गणेशप्रसाद रेग्मी सदस्य हुनुहुन्थ्यो । अधिवेशनमा १ सय ५ जना प्रतिनिधिहरू रहेका थिए ।