
रुकुम पश्चिममा जारी तेस्रो रुकुम कप भलिबलमा रुकुम पश्चिम सानीभेरीको टिम खनाल तृतीय भएको छ । आइतबार तेस्रो स्थानका लागि भएको खेलमा सल्यानको वनगाड कुपिण्डे नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै टिम खनाल तृतीय भएको हो । राष्ट्रिय खेलाडी समेत रहेको टिम खनाललाई मुख्य उपाधि दाबेदारका रूपमा हेरिएको थियो ।
तर अंक तालिकामा तेस्रो स्थानमा रहेको टिम खनालले चौँथो स्थानमा रहेको वनगाडसँग तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नुपरेको थियो । टिम खनालले नगद १ लाख ५१ हजार, ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । सान्त्वना भएको वनगाडले १ लाख ११ हजार नगद पुरस्कार पाउने आयोजक रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रले जनाएको छ ।
पुरुष तर्फको फाइनल खेल सोमबार दिउँसो २ बजे हुने रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष तेज बुढाले जानकारी दिनुभयो । पुरुष तर्फ उपाधिका लाग हाम्रो सरोकार रुकुम पश्चिम र बौदीकाली नवलपुर बिचमा प्रतिस्पर्धा हुने छ । महिला तर्फको उपाधि भने बाँफिकोट गाउँपालिकाले जितेको छ । आइतबार नै भएको फाइनलमा जनज्योति युवा विकास केन्द्र रुकुम पूर्वलाई ३–० को सोझो सेटमा पराजित गर्दै बाँफिकोटले उपाधिमा कब्जा जमाएको हो ।
उसले १ लाख नगद सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेता जनज्योतिले नगद ७५ हजार, ट्रफि मेडल र प्रमाणपत्र तथा तेस्रो बनेको रुकुम भलिबल टिमले नगद ५० हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाउने छ । चौथो भएको सीमा भलिबल क्लब रुकुम पूर्वले २५ हजार नगद पुरस्कार पाउने अध्यक्ष बुढाले जानकारी गराउनुभयो ।