
रूकुम पश्चिमका सुनचाँदी व्यवसायीहरूले पनि सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् । बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दैे सदरमुकाम मुसिकाेट खलंगामा प्रदर्शन गरेका हुन् ।
बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।
उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।
व्यवसायीहरुले जिल्लाभरका आफ्ना पसलमा कालो व्यानर राखेर पसल नै बन्द समेत गरेका छन् । साथै उनीहरुले आजै जिल्ला प्रशासन कार्यालयमा गएर ज्ञापन पत्र समेत बुझाएका छन् । केन्द्रीय कार्यक्रम अनुसार बिराेध प्रदर्शन र ज्ञापन पत्र बुझाइएकाे सुनचाँदी व्यवसायी संघ रूकुम पश्चिमका अध्यक्ष रविन स्वर्णकारले जानकारी दिनुभयाे ।