
नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश सल्लाहकार मोतिकला पुनको निधन भएको छ । रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं ९ कामीगाउँ निवासी पुनको उपचारको क्रममा ७९ वर्षको उमेरमा नेपालगंजमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
मोतिकला पुनको आज विहान १० बजे होलतरास्थित आर्यघाटमा अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको उहाँका सुपुत्र तथा मुसिकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शशिराम पुनले जानकारी दिनुभयो । दिवंगत मोतिकला पुन नेपाली कम्युनिष्ट आन्दोलनका हस्ती कामी बुढाकी छोरी हुनुहुन्छ ।
कम्युनिष्ट आन्दोलन विस्तारको लागि दैलेख–जुम्ला हुँदै हुम्ला पुगेका कामी बुढालाई विक्रम संवत २००९ सालमा तत्कालीन सरकारले गरिफ्तार गरी जुम्लाको चौभान जेलमा ल्याएको थियो । आत्मसमर्पण गर्न नमानेपछि उहाँलाई २०१० सालमा दशैंको फुलपातीको दिन जुम्ला जेलमै हत्या गरिएको थियो ।
कामी बुढालाई नेपाल कम्युनिष्ट पार्टीका तत्कालीन कर्णाली प्रान्तीय इञ्चार्ज शैलेन्द्रकुमार उपाध्याय र सेक्रेटरी कमलराज रेग्मीले पश्चिम नेपालमा भूमिगत रुपमा आन्दोलन विस्तार गर्ने जिम्मेवारी दिनुभएको थियो ।