Kakhara सबैको खबर सम्पूर्ण खबर
चाैरजहारीका अपाङ्गता भएका ब्यक्तिसँग अभिमुखिकरण

रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा अपाङ्गता समावेशीकरण र स्थानीय तहमा अपाङ्गता भएका व्यक्तिको सहभागितामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

मानव विकास तथा सामुदायिक सेवा अन्तरगत  अपाङ्गता भएका व्यक्तिहरूको लागि लचिलो, स्वतन्त्रता, सुदृढीकरण र  सशक्तीकरण  (राइज-अप) परियोजनाको आयोजनामा एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

चौरजहारी नगरपालिका वडा नम्बर २ मा रहेको होटेल मालिका सिद्धार्थको सभा हलमा भएको कार्यक्रममा लैँगिक समानता एवं अपाङ्गताको क्षेत्रमा विगत लामो समय देखि कार्यरत युनाइटेड मिसन टु नेपालका  (जेड्सी) एडभाईजर तथा अपाङ्गता क्षेत्रको बारेमा पुस्तक लेखक वीरबहादुर बस्यालले गोष्ठीको सहजीकरण गर्नुभएको थियो ।

गोष्ठीमा अपाङ्गता भएका व्यक्ति परिवार तथा समुदायको लागि वनेका नीति नियम, ऐन, कानुन कार्यान्वयनको अवस्था राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यास, स्थानीय तहले गरेका सकारात्मक कार्य, भौतिक तथा संरचनागत अवरोध, अपाङ्गता र कार्यगत सीमिततामा वातावरणको प्रभाव लगाएतको बारेमा छलफल गरिएको थियो ।

त्यस्तै अपाङ्गता सम्बन्धी सङ्घीय निर्देशक समिति, प्रदेश समन्वय समिति, स्थानीय अपाङ्गता समन्वय समितिको काम कर्तव्य र अधिकार तथा अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७५ को बारेमा पनि छलफल गरिएको कार्यक्रमका सञ्चालक एवं राइजअप परियोजना अधिकृत सन्देश जैसीले जानकारी दिनुभयो ।

गोष्ठीमा अपाङ्गताको प्रकार, अपाङ्गता परिचय पत्र, नीतिगत अवरोध,  राजनैतिक अवरोध, सामाजिक अवरोध, वातावरणीय अवरोध,धारणागत अवरोध लगायतको विषयमा छलफल गरिएको अधिकृत जैसीले बताउनुभएको   छ । 

कार्यक्रमको प्रमुख अतिथि चौरजहारी नगरपालिकाका उप-प्रमुख ईश्वरी कुमारी शर्मा (बि.एम) ले अपाङ्गताको क्षेत्रमा काम गर्दै आइरहेको मानव विकास तथा सामुदायिक सेवा अन्तरगत  राइजप परियोजनाले गरेको काम प्रति प्रशंसा गर्दै आगामी दिनमा थप सहकार्य गर्नको लागी स्थानीय  सरकार तयार रहेको बताउनु भयो । 

उक्त कार्यक्रममा चौरजहारी नगरपालिकाका उप-प्रमुख ईश्वरी कुमारी शर्मा (बि.एम) प्रमुख आथित्यता रहेको कार्यक्रममा चौरजहारी नगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत सीता थापाको  विशेष आथित्यता र नेपाल पत्रकार महासंघ रुकुम पश्चिमका अध्यक्ष गोपाल प्रसाद रेग्मी, सञ्चारकर्मी, सरोकारवाला निकाय लगायतको आथित्यता   रहेको  थियो ।

उक्त   कार्यक्रमको अध्यक्षता एक स्वास्थ्य परियोजना संयोजक  यदु के.सी  ले गर्नुभएको थियो। साथै कार्यक्रम मा चौरजहारी नगरपालिका भित्रका १४ वटै वडाका ४०जना अपाङ्गता भएका व्यक्ति तथा परिवारको सहभागिता रहेको परियोजना अधिकृत जैसीले बताउनुभयाे । 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update