
नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र) रुकुम पश्चिमले पार्टीका कर्णाली प्रदेश समिति सल्लाहकार मोतीकला बुढाको निधनमा शोक व्यक्त गरेको छ ।
कर्णाली प्रदेश सल्लाहकार समिति सदस्य, नेपाली कम्युनिस्ट आन्दोलनका प्रथम सहिद कामी बुढाकी सुपुत्री तथा पार्टीका जिल्ला समन्वय समिति सदस्य एवं मुसिकोट नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष शशिराम पुनकी आमा पुनको निधनमा विज्ञप्ति जारी गर्दै शोक व्यक्त व्यक्त गरेको छ ।
पुनको निधनले पार्टीलाई मर्माहत बनाएको विज्ञप्तिमा उल्लेख छ । पुनको उपचारकाे क्रममा आइतबार दिउँसो नेपालगन्जमा निधन भएको हो ।
`मुसिकोट नगरपालिका वडा नम्बर ९ कामीगाउँ निवासी मोतीकलाको उपचारको क्रममा भएको दुःखद निधनले हाम्रो पार्टीलाई मर्माहत बनाएको छ । यस दुखद घडीमा पार्टी जिल्ला समन्वय समिति दिवङ्गत मोतीकलाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । साथै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछौँ ।´
पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज वसन्तकुमार शर्मा र जिल्ला संयोजक गोविन्द रोकाले जारी गरेको शोक विज्ञप्तिमा भनिएको छ ।
२००४ साल चैत्र ३१ गते जन्मनुभएकी मोतीकला नेपालमा जनयुद्धको तयारी कालदेखि नै पार्टी र महिला सङ्गठनको काममा सक्रिय रहँदै आउनुभएको थियो भने २०५४ साल चैत्र ३१ गते पार्टी सदस्यता प्राप्त गर्नुभएको थियो ।
`जस्तोसुकै कठिन परिस्थितमा पनि आफ्नो पिता कामी बुढाको पदचापलाई पछ्याउँदै परिवर्तनकारी आन्दोलनमा निरन्तर सक्रिय रहँदै आउनुभएकी मोतीकला अन्तिम सास फेर्दासम्म हजारौँ क्रान्तिकारी यौद्दाहरूको लागि प्रेरणाको स्रोत बनिरहनुभयो, पार्टीले जारी गरेको शोक विज्ञप्तिमा उल्लेख छ ।
पार्टी सेल कमिटी, एरिया कमिटी र जिल्ला कमिटी सदस्यको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्दै आउनुभएकी उहाँ २०७८ फागुनदेखि पार्टीको कर्णाली प्रदेश समितिको सल्लाहकार सदस्य हुनुहुन्थ्यो ।
`मोतीकलाको निधनबाट हाम्रो पार्टी र समाजलाई अपूरणीय क्षति भएको छ । यस दुःखद क्षणमा हामी शोकलाई शक्तिमा बदल्दै उहाँले छोडेर जानुभएको अधुरो कामलाई पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ´ शोक विज्ञप्तिमा भनिएको छ । मोतीकलाको आज मुसिकोट ९ को बैरामूल घाटमा अन्त्येष्टि गरिएको छ ।
अन्त्येष्टि पूर्व बैरामूल घाटमै श्रद्धाञ्जली सभा भएको थियो । २०४८ का प्रतिनिधि सभा सदस्य खड्कबहादुर बुढा, नेकपा माओवादी केन्द्र रुकुम पश्चिमका जिल्ला संयाेजक गाेविन्द रोका सचिन, केन्द्रीय आयोग सदस्य गोपीराम केसी, केन्द्रीय सदस्य प्रेमकुमारी सुनार, बुद्धिप्रसाद शर्मा, मुसिकोट नगर अध्यक्ष दलबहादुर खड्का, प्रदेश सदस्य इन्दिरा बिएम, धिरन शिर्पाली लगायतले श्रद्धाञ्जली अर्पण गरेका थिए ।
बुढाको पार्थिव शरीरमा नेकपा माओवादी केन्द्रको झन्डा समेत ओढाइएको थियो । श्रद्धाञ्जली सभाको सञ्चालन नेकपा माओवादी केन्द्र मुसिकोट ९ का इन्चार्ज विनोद ओलीले गर्नुभएको थियो ।