Kakhara सबैको खबर सम्पूर्ण खबर
भूमे पर्वः भूमेमा विभिन्न कार्यक्रम जारी 

रुकुम पूर्वको भूमे गाउँपालिकामा भूमे पर्वको अवसरमा विभिन्न कार्यक्रम जारी छन् । भूमे पर्व मगर समुदायको मुख्य चाड हो । भूमे पर्व विधिगत रूपमा जेठ मसान्तदेखि असारको पहिलो हप्तासम्म धूमधामले मनाउने गरिन्छ । 

भूमे पर्वको अवसरमा भूमे गाउँपालिकाले विभिन्न खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । जुन कार्यक्रम जारी छन् ।  ‘हाम्रो भूमे हाम्रो पहिचान: स्थानीय कला संस्कृतिको जगेर्ना हाम्रो अभियान’ भन्ने नाराका साथ पाँचौँ भूमे सांस्कृतिक महोत्सव हिजोबाट जारी छ । 

भूमे गाउँपालिका–२ खाबाङ बगरमा पाँचौँ भूमे सांस्कृतिक महोत्सव अन्तर्गत विभिन्न सांस्कृतिक कार्यक्रमहरूको प्रतिस्पर्धा भइरहेको छ । भूमे नाच, ढोँगे/नचारूँ नाच, मयुर नाच, डिग्रे/पैसेरु नाच, फाँक नाच, झोरेल्नी नाच, सिँगारु नाच र लस्के गीत लगायतका कार्यक्रम भइरहेको आयोजक भूमे गाउँपालिकाले जनाएको छ । 

Bhume-(1)-1750156790.jpg
भूमे नाचमा प्रथम हुने समूहलाई नगद एक लाख, दोस्रो हुने समूहलाई नगद ७५ हजार, तेस्रो हुनेलाई नगद ५० हजार र सान्त्वना हुनेलाई नगद ३० हजार पुरस्कार प्रदान गरिने भूमे सांस्कृतिक महोत्सव व्यवस्थापन समितिका सदस्य सचिव चन्द्र रसाइलीले जानकारी दिनुभयो । 

यसै गरी, ढोँगे/नचारूँ नाच, मयुर नाच, डिग्रे/पैसेरु नाचमा प्रथम, दोस्रो, तेस्रो र सान्त्वना हुनेलाई क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार र पाँच हजारले पुरस्कृत गरिने रसाइलीले बताउनुभयो ।

फाँक नाच, झोरेल्नी नाच, सिँगारु नाच र लस्के गीत प्रतियोगितामा प्रथम हुने समूहले नगद १० हजार, दोस्रो हुने समूहले सात हजार, पाँच हजार र तेस्रो हुने समूहले तीन हजार रुपियाँ पुरस्कार पाउने छन् । यी नाच तथा गीत भूमे गाउँपालिकाका पुराना कला संस्कृति हुन् । यिनको संरक्षण तथा पुस्तान्तरणका लागि गाउँपालिकाले हरेक वर्ष भूमे पर्वको अवसरमा प्रतियोगिता नै आयोजना गर्ने गरेको छ । 

यसैबिच भूमे पर्वकै अवसरमा पाँचौँ भूमे कप प्रतियोगिता समेत जारी छ । गाउँपालिकाको आयोजनामा वडा नम्बर ४ काँडामा असार १ गतेदेखि पाँचौँ भूमे कप चलिरहेको छ । कपमा पुरुष तथा महिला भलिबल, पुरुष फुटबल, लोक दोहोरी र नृत्य प्रतियोगिता भइरहेको खेल संयोजक चन्द्र रसाइलीले बताउनुभयो । 

Bhume-(2)-1750156791.jpg
भलिबल र फुटबल प्रतियोगिता रुकुम पूर्वको शुद्ध वडा स्तरीय रहेको छ । महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिला÷पुरुषलाई समान प्रथमलाई ७० हजार, दोस्रोलाई ४५ हजार, तेस्रोलाई ३० हजार र सान्त्वना हुनेलाई पाँच हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

यसै गरी, फुटबल प्रतियोगितामा प्रथम हुनेलाई नगद ३० हजार, दोस्रोलाई नगद २० हजार, तेस्रोलाई १० हजार र सान्त्वनालाई पाँच हजारको साथमा मेडल र प्रमाणपत्रको व्यवस्था रहेको आयोजकले जनाएको छ । त्यस्तै लोक दोहोरी र नृत्य प्रतियोगिता स्थान प्राप्त गर्ने प्रतियोगीलाई पनि पुरस्कारको व्यवस्था रहेको आयोजकले जनाएको छ ।

Bhume-(3)-1750156780.jpg

प्रकाशित मिति: मंगलबार, असार ३, २०८२  १६:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update